एसियन लाइफद्वारा फेरी ६० प्रतिशत हकप्रद निष्काशन गर्न प्रस्ताव पेश
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फेरी ६० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण पश्चात कायम हुने चुक्ता पुंजीको ६० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले जेठ १९ गते साधारणसभा आह्वान गरेको छ ।

तर लगानीकर्ता माझ कम्पनीले प्रस्ताव गरेको बोनस ४ प्रतिशत कि ६ प्रतिशत भन्नेमा अन्योल रहेको छ । कम्पनीले सुरुमा गत बर्षको मुनाफाबाट १२ प्रतिशत बोनस दिने प्रस्ताव गरेको थियो । कम्पनीले गरेको प्रस्तावमा बिमा समितिले लगानी तथा कर्जामा पर्याप्त ब्यबस्था सहितको परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिए पछि कम्पनीको बैशाख १२ गते बसेको संचालक समितिको बैठकले १२ प्रतिशत बोनस परिमार्जन गरी ६ प्रतिशत बोनस प्रस्ताव गरेको थियो ।
अहिले कम्पनीले साधारणसभाको सूचना निकाल्दा कम्पनीले बोनस ४ प्रतिशत भएको उल्लेख गरेको छ । कम्पनीले यहि फागुन १३ गतेदेखि १० बराबर ५ कित्ता शेयर अर्थात ५० प्रतिशतका दरले ४० करोड २७ लाख बराबरको ४० लाख २७ हजार कित्ता हकप्रद बिक्रि गरेको थियो । यस ५० प्रतिशत हकप्रदले पनि बोनस पाउने हुँदा ६ प्रतिशत बोनस हकप्रदलाई समेत समायोजन गर्दा ४ प्रतिशत हुन् गएको कम्पनीले जनाएको छ ।
५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी १ रब २० करोड हुन्छ । त्यसमा ४ प्रतिशत बोनसपछि चुक्ता पुंजी १ अर्ब २५ करोड पुग्ने छ । त्यसपछि ६० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब १ करोड पुग्ने छ ।















प्रतिक्रिया दिनुहोस्