वाणिज्य बैंकहरूको व्याजदर घट्यो

काठमाडौं, ३१ भदौ। वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ ।

भदौमा यी बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा झरेको छ । यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत थियो ।

असोजमा दुई बैंक कृषि विकास र नेपाल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भदौको तुलनामा बढाएका छन् । तीबाहेक १० बैंकले घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेस्ट छन् ।

स्थिर राखेकामा लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्रभु, हिमालयन छन् ।

असोज महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज दिनेमा एनआईसी एसिया बैंक छ । जसले अधिकतम ७.१८ प्रतिशत ब्याज दिनेछ । यसअघि भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत थियो । जुन एनएमबी र एनआईसी एसिया बैंकले दिएका थिए ।

त्यस्तै असोजमा व्यक्तिगत मुद्दतीमा न्यूनतम ब्याजदर भने सानिमाको ५.९ प्रतिशत छ । लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।

बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनु, तर कर्जा प्रवाह सोअनुसार बढ्न नसक्दा बैंकलाई लागत महँगिन गएको छ । बैंकहरुसँग तरलता पर्याप्त रहेपछि राष्ट्र बैंकले बोलकबोलमार्फत रकम खिचिरहेको छ ।

आइतबार १ खर्ब रुपैयाँ तरलता खिचेको राष्ट्र बैंकले सोमबार ५० अर्ब रुपैयाँ तरलता खिच्दैछ । पर्याप्त तरलता रहेकाले निक्षेपको ब्याजदर घट्दो क्रममा देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दर ५ प्रतिशतमा झारेको छ । ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्