उपसभापति गुरूङमाथि छानबिन गराउन कांग्रेस तयार

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसले उपसभापति धनराज गुरूङमाथि छानबिन गर्न पार्टी तयार रहेको बताएको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा ललितपुरको मितेरी सहकारीमा उपसभापति गुरूङ जोडिएको भन्ने विषयमाथि पनि छलफल भएको थियो।

बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले उपसभापति गुरूङमाथि छानबिन गर्न कांग्रेस तयार रहेको बताए।

‘उपसभापतिको विषयमा हामी प्रष्ट छौं, गल्ती गर्नु भएको हो भने सजाय भोग्नुहुन्छ,’ उनले भने, ‘तर जुन ढंगले नक्कली डिभोर्स भनेर संसदमा प्रश्न उठेको छ, डिभोर्स पनि नक्कली हुन्छ?, कानुन बमोजिम डिभोर्स भएपछि सक्कली हो।’

२०७६ सालमै गुरूङको डिभोर्स भएको देखिएको उनले बताए।

‘यदि कुनै ठाउँमा गल्ती भएको छ भने त्यो छानबिन गराउन कांग्रेस तयार छ,’ उनले भने।

मंगलबारको प्रतिनिधि सभामा गुरूङले आफूमाथि संसदीय छानबिन गर्न आग्रह पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्