कुलमानलाई कारबाही गर्ने विषयमा लेखा समितिमा विवाद, बैठक स्थगित

काठमाडौं,९ भदौ । डेडिकेटेड ट्रंक लाइनको बक्यौता महसुल विवादबारे छलफल गर्न आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठक बिना निस्कर्ष स्थगित भएको छ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नउठाएकामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका अधिकारीहरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने सभापति ऋषिकेश पोखरेलको प्रस्तावमा प्रमुख प्रतिपक्षी माओवादी लगायतका सांसदले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको थियो ।

बैठकमा सभापति ऋषिकेश पोखरेलले २१ अर्ब भन्दा बढीको बक्यौता उठाउने र समयमै बक्यौता उठाउन नसक्ने पदाधिकारीहरुलाई पनि कारबाही गर्नुपर्ने व्यहोराको निर्णय गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको प्रमुख प्रतिपक्षी माओवादीका सांसदहरुले विरोेध जनाएका थिए ।

माओवादी सांसदहरुको तर्क थियो जस्ले नेपाल विद्युत प्राधिकरणलाई सवल बनाउदै घरघर विद्युत पुर्याउने ब्यक्तिलाई पुरस्कार दिनुको सट्टा सजाय दिनु भनेको जनतालाई अपमान गर्नु हो ।

बैठकमा माओवादी सांसद राजन दाहाल र अमनलाल मोदीले निर्णय नमान्ने भन्दै सभापति पोखरेलको चर्को विरोध गरेका थिए । अन्य केही सांसदले समेत महशुल वक्यौता उठाउने निर्देशनमात्र दिन आग्रह गरेपछि बैठकमा होहल्ला र विवाद भएको थियो । विवादपछि सभापति ऋषिकेश पोखरेलले बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्