लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘एक्टर’को फर्स्टलुकमा प्रदीपको बहुरुप

काठमाडौं, ७ भदौ। ‘स्टार’ अभिनेता प्रदीप खड्काले कलाकारकै भूमिकामा अभिनय गरेको फिल्म ‘एक्टर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । जसमा प्रदीप मात्र चित्रित छन् । तर, उनी पाँच भिन्न गेटअपमा प्रस्तुत छन् । कुनैमा उनी टाउको र हातमा ब्यान्डेज बाँधेर घाइते अवस्थामा देखिएका छन् भने कुनैमा विमान चालकको पोशाकमा छन्, जसले फिल्ममा प्रदीपको बहुरुपी चरित्र रहेको दर्शाउँछ ।

आगामी कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनमा आउन लागेको फिल्ममा प्रदीपसहित आना शर्मा, राजबल्लभ कोइराला, दिव्य देव, दिव्या रायमाझी, सुशील सिटौला उषा रजक, सिर्जना अधिकारी, अनुज पाण्डे लगायतको पनि अभिनय छ । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याको यही फिल्मबाट डेब्यु भएको हो । र, यही फिल्मबाट राजबल्लभले १० वर्षपछि पुनरागमन गरेका छन् ।

राजन भुसालको डेब्यु निर्देशनमा तयार भएको फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् । निर्देशक भुसाल र आकाश बरालको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, शिशिर खाती र किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व तथा निमेश श्रेष्ठको सम्पादन छ । कलाकारको ‘लाइनअप’ बलियो भएकाले फिल्मले तिहार विदाको फाइदा उठाउन सक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्