बैतडीमा बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध,चालकको अवस्था गम्भीर

काठमाडौं । बैतडीमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका हुन् ।
बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडिब्याक हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडीसमेत चल्न नसकेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते सबैको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नं को बस दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–१० अनारखोलीमा आज बिहान पौने ३ बजे दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्