निरन्तर घट्दोक्रममा निक्षेपको ब्याजदर भदौमा पनि घट्यो
काठमाडौं,३२ साउन । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् ।
२० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । त्यस्तै, ७ बैंक स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् ।
त्यसैगरि, १२ बैंकले भने ब्याजदर घटाएका छन् । साउन महिनामा व्यक्तिगत मुद्दतीमा २० वाणिज्य बैंकहरुको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत रहेकोमा भदौमा यस्तो दर घटेर ६.५४ प्रतिशतमा झरेको छ ।
साउनको तुलनामा भदौमा ब्याजदर घटाउने बैंकमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट छन् ।
लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ ।
भदौ महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर ७.४१ प्रतिशत कायम भएको छ । जुन एनएमबी र एनआईसी एसिया बैंकको छ । राष्ट्र निर्देशन अनुसार बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ ।
संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।
बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त रहेकोले, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर ५.५ बाट ५ प्रतिशतमा झारिनु, ब्याजदर करिडोरको माथिल्लो सीमा ७ बाट ६.५ प्रतिशतमा झारिनुले भदौमा बैंकहरुलाई ब्याजदर घटाउन बल पुग्यो ।
प्रतिक्रिया दिनुहोस्