सेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार गरेर रच्यो अर्को इतिहास, २८ सयको विन्दुमा ल्याङ गर्दै बढ्यो २९ सयको यात्रामा

काठमाडौं, २७ साउन । सेयर बजारमा हुने दैनिक कारोबार रकममा फेरि एकपटक नयाँ रेकर्ड बनेको छ।

यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको हो।

आइतबार २५ अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएको छ। कारोबार मात्रै होइन सेयर बजार परिसूचक ३० महिनाकै उच्च विन्दुमा आइपुगेको छ। नेप्सेले २८ सयको मनोवैज्ञानिक प्रतिरोध पार गरेसँगै ३० महिनाकै उच्च विन्दुमा आइपुगेको हो।

नेप्से एकैदिन ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा आइपुगेको हो। यसअघि नेप्से २०७८ माघ २० गते २८७६.७४ विन्दुमा थियो। गत सातादेखि नेप्सेले २८ सयमा कडा प्रतिरोध पाइरहेको थियो।

यो प्रतिरोध पार गरेसँगै बजार थप बढ्ने लगानीकर्ताहरूको अनुमान छ।

यसदिन ३३० वटा धितोपत्रको छ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भएको हो।

आइतबार २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ। यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्