सेयर कारोबारमा रेकर्ड, २३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी कारोबार, १४५.०५ विन्दुको उच्च गिरावट

काठमाडौं, २१ साउन । आज मंगलबार शेयर बजारमा उच्च गिरावट आएता पनि कारोबारमा भने रेकर्ड कायम गरेको छ । केही दिनअघिबढेको बजारबाट लगानीकर्ताले प्रोफिट बुक गर्दा मंगलबार नेप्से सूचक प्रभावित भएको छ । सूचकमा भारी गिरावट आउँदा कारोबार रकमले भने नयाँ कीर्तिमान कायम गरेको छ । यस दिन नेप्से सूचक १४५।०५ विन्दुले घटेको छ । सूचक २६५१।३२ अंकमा आएको छ ।

२३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । नेप्से घट्न थालेपछि प्यानिक सेल आएकाले पनि कारोबार रकम झनै बढेको देखिन्छ । तर यसरी आएको सेललाई बजारले सजिलै खपत गरिदिएको पनि छ ।

कतिपय कम पुँजी भएका कम्पनीहरुको भाउ दोब्बरभन्दा बढीले पनि वृद्धि भयो । तर आधारभूत सूचक सबल रहेका अधिकांश कम्पनीहरु भने निकै विस्तारै बढेको देखिन्छ । यद्यपि, सबै समूहका सूचक माथितिरै लागेको हो । बजार करिब ८ सय अंकसम्म बढ्दा पनि बीचमा कुनै दिन पनि ठूलो करेक्सन आएको थिएन ।

लगभग एकोहोरो ढंगले नै माथितिर लागेको थियो । यसकारण २८ सयको तहमा गएर धेरैले एकसाथ नाफा बुक गर्दा एकै दिनमा उच्च अंकको गिरावट आएको अनुमान गरिएको छ । छोटो समयमै बेस्सरी बढेको बजारमा केही करेक्सन हुनु एकदमै स्वभाविक र बजारको सामान्य नियम अनुसार नै हो ।

तर समग्रमा हेर्दा बजार बुल रनमा रहेको छ । बुल रन सुरु गरेको बजारले केही करेक्सनहरुका बाबजुत पुनः उकालो यात्रा तय गर्ने जानकारहरु बताउँछन् । बढेको बजारमा बेलाबखत आएका केही करेक्सनहरुले नेप्सेलाई अझै बलियो बनाउने विश्वास गर्न सकिन्छ ।

दीर्घकालमा बजार कता जान्छ भन्ने महत्वपूर्ण हुन्छ । समग्र ट्रेन्ड हेर्दा बजार बुल रनमा लागेको देखाउँछ । किनभने वित्तीय संस्थामा प्रचुरमात्रामा तरलता रहेको छ । बैंक ब्याजदर निरन्तर घट्दोक्रममा छ । सरकार तथा नियामक निकाय पुँजी बजार सुधारप्रति प्रतिबद्ध देखिएका छन् । केन्द्रीय बैंकले नीतिगत अवरोधहरु हटाउँदै गएको छ । यस्तै, सूचीकृत कम्पनीहरुले मुनाफा पनि बढाउँदै लगेका छन् ।

यतिमात्र होइन, हाम्रो बजार एउटा निश्चित चक्रमा चल्ने गरेको देखिन्छ । यसआधारमा बजारले करिब ३ वर्षको बियरिस चक्र पूरा गरेको देखिन्छ । लामो बियरिस चक्र पूरा गरेकाले अबको चक्र बुलिस हुने अनुमान धेरैको छ ।
यस दिन ३२२ कम्पनीको ५ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब ३९ करोडसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ ।

यस्तै, यसबीचमा समग्र सेयर बजारमा वृद्धि भयो । तर केही नन्फन्डामेन्टल कम्पनीहरु बेस्सरी उचालिएको भन्दै संसदमा समेत चर्को आवाज उठ्न सुरु भयो । वित्तीय सूचक राम्रा नभएका कम्पनीको लगानी जोखिमयुक्त हुन सक्ने भए पनि आधारभूत सूचक सबल भएका कम्पनीहरु तुलनात्मकरुपमा सस्ता छन् । यिनीहरुको मूल्य भने न्यूनमात्र बढेको देखिन्छ ।

आम लगानीकर्ताले भने वित्तीय सूचक सबल भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमा लगानी गर्न सक्नुपर्छ । यसो भएमा जोखिम न्यूनीकरण गर्न सहज हुन्छ ।

प्रतिक्रिया दिनुहोस्