पत्रकार महासंघ प्रदेश समितिको चुनाव जारी, तीन दलीय सिन्डिकेट भन्दै केहीको बहिष्कार

काठमाडौं । नेपाल पत्रकार महासंघको प्रदेश समितिका पदाधिकारी चयनका लागि मतदान भइरहेको छ । ७ वटा भौगोलिक प्रदेश र काठमाण्डू उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० वटा समिति मध्ये ५ वटामा मतदान सुरु भएको हो । प्रदेश नम्बर ४, ५ ६, प्रतिष्ठान र एशोसिएटतर्फका ५ वटा समितिका सबै पदमा निर्विरोध भइसकेको छ ।

नेपाल पत्रकार महासंघमा पहिलो पल्ट साधारण सदस्यको प्रत्यक्ष मतदानबाट प्रदेश समितिका पदाधिकारी चयन हुन लागेको भए पनि धेरै जस पदमा मुख्य ३ दल निकटका पत्रकार भागबण्डा गरेर निर्विरोध चयन भएका छन् ।

नेकपा एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले सिण्डिकेट कायम राखेर पद भागबण्डा गरेको भन्दै अन्य दल निकट पत्रकारले यो चुनाव बहिष्कार गरेका छन् ।

केहीले भने भागबण्डा गर्नेलाई निर्विरोध हुन नदिने भन्दै उम्मेदवारी दर्ता गरेका कारण मतदान नै गर्नु परेको हो ।

काठमाडौं उपत्यकाको मतदान पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा भइरहेको छ भने अन्य जिल्ला शाखाको मतदान सम्बन्धित जिल्लाकै कार्यालयमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्