अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्यो
काठमाडौं,२ साउन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । कच्चा तेलको भाउ घटेर १ महिनायताकै न्यून विन्दुमा कारोबार भइरहेको रोयटर्सले उल्लेख गरेको हो । आज लगातार चौथो दिन पनि भाउ घटेर तेलको कारोबार भइरहेको छ । ब्रेन्ट क्रुड तेलको मूल्य ७ सेन्टले घटेर प्रतिब्यारेल ८३.६८ डलरमा कारोबार भइरहेको छ ।
अमेरिकी बेन्चमार्क डब्लुटीआई क्रुड पनि ०.०४ प्रतिशतले घटेर प्रतिब्यारेल ८०.७४ डलरमा कारोबार भइरहेको छ । यी दुुवै बेन्चमार्कहरु यसअघिका ३ कारोबारहरुमा पनि घटेका थिए ।
चीनमा कमजोर मागको संकेतपछि कच्चा तेलको भाउमा गिरावट आएको हो । यद्दपि, अमेरिकी तेल रिजर्भमा कमी आउनेक्रम जारी नै रहेका कारण गिरावट उच्च हुन नपाएको रोयटर्सले लेखेको छ । विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता चीनले दोस्रो त्रैमासमा अर्थतन्त्र ४।७ प्रतिशतले मात्र बढेको तथ्यांक सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्