राष्ट्रिय सहमतिको सरकारमा अरू साना दलहरूलाई सहभागी गराउन कांग्रेस एमालेबीच व्यापक छलफल

काठमाडौं, २७ असार । नेपाली कांग्रेस र नेकपा (एमाले) ले अरू दलहरूलाई समेटेर सरकार गठन गर्नेबारे छलफल गरेका छन्।

संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनलगायत ७ बुँदे सहमति भएको थियो।

त्यसपछि एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले पनि राजीनामा दिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।

एमालेले छाडेका ८ र जसपाले छाडेका २ मन्त्रालय पनि प्रधानमन्त्री दाहालले नै हेर्दै आएका छन्।

प्रधानमन्त्री दाहालले शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वास मतको प्रस्ताव राख्दैछन्। सरकारलाई समर्थन गरेको दल बाहिरिएमा संविधानको व्यवस्थाअनुसार विश्वास मत लिनुपर्छ।

प्रधानमन्त्री दाहालको दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई विश्वास मत दिन ह्विप जारी गरिसकेको छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि सरकारलाई विश्वास मत दिने बताइरहेको छ भने सरकारमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार संसदीय दल बैठक गरेर यसबारे निर्णय लिने भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वास मत दिने वा नदिनेबारे बिहीबारको संसदीय दल बैठकबाट निर्णय गर्दैछ। राप्रपाले कांग्रेस–एमालेबीच असार १७ मा संविधान संशोधन लगायत विषयमा भएको सहमतिलाई स्वागत गरेको थियो। राप्रपाले सरकारलाई विश्वास मत दिने सम्भावना कम छ।

संसदमा रहेका अन्य दलहरूलाई कांग्रेस–एमाले गठबन्धनमा सहभागी गराएर सरकारमा पनि समेट्ने तयारी भइरहेको छ। यसबारे सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित दुवै दलका नेताहरूबीच छलफल चलिरहेको छ। उनीहरूबीच बुधबार साँझ बूढानीलकण्ठमा छलफल पनि भएको थियो।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार कांग्रेस–एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी बनेकोले संसदमा रहेका अरू दलहरूलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल भएका छन्।

‘जनता समाजवादी पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत, नागरिक उन्मुक्ति पार्टी लगायतलाई समेटेर जाने विषयमा दुवै दल (कांग्रेस–एमाले) बीच छलफल गरिएको हो,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने।

यीमध्ये जनमत र नागरिक उन्मुक्ति दाहाल नेतृत्वको सरकारलाई समर्थन दिएका थिए। जनमतको नेतृत्वमा मधेस सरकार छ। उक्त सरकारलाई कांग्रेस र एमालेले समर्थन दिएको छ। नाउपाले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने बताइरहेको छ।

कांग्रेस र एमालेले संसदमा रहेका अन्य दलहरूलाई पनि समेट्दै माओवादी केन्द्रलाई पनि विश्वासमा लिएर अघि बढ्ने तयारी गरेका छन्। संविधानका कतिपय बुँदाहरू पुनरावलोकन गर्नुपर्ने देखिएको भन्दै उनीहरूले सबै दलहरूको सहमतिअनुसार अघि बढ्ने जमर्को गरेका छन्।

कांग्रेस र एमालेले संसदमा रहेका साना दलहरूलाई पनि सरकारमा सहभागी गराएर दुई तिहाइ हाराहारीको सरकार बनाउन खोजेका छन्। संविधान संशोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा दुई तिहाइ मत चाहिन्छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संविधान संसोधनलगायत विषयमा पनि सहमति भएकाले राष्ट्रिय सहमतिको सरकार बनाउने पहल भइरहेको बताए। त्यसका लागि उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने र उनीहरूलाई सांसद संख्याका आधारमा मन्त्रालय दिने भन्नेबारे छलफल चलेको बताए।

‘राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने सहमति हो,’ ज्ञवालीले भने,–त्यसैले अरू दलहरूलाई ल्याउने प्रयास भइरहेको छ। उनीहरूलाई कसरी सहभागी गराउने भन्नेबारे छलफल चलिरहेको छ तर टुंगिसकेको छैन।’

दाहाल नेतृत्वको सरकारले शुक्रबार विश्वास मत प्रस्ताव राख्ने र त्यसको निर्क्यौलपछि मात्रै नयाँ सरकार गठन प्रक्रिया सुरू हुनेछ। कांग्रेस र एमालेबीच पहिले दुई वर्ष ओली र पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने सहमति छ।

प्रतिक्रिया दिनुहोस्