११ महिनामा ३ अर्ब डलर भन्दा धेरैले बढ्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं, २७ असार । देशको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । गत बर्ष २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति २०८१ जेठ मसान्तसम्म आइपुग्दा ३ अर्ब १ करोड अर्थात २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड डलर पुगेको राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ ।

यो रकम नेपाली रुपैयाँमा भन्ने हो भने २०८० असार मसान्तमाको १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी मुद्रा सञ्चितिमा २७.८ प्रतिशतले वृद्धि भई गत जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्ने हो भने यो विदेशी मुद्राको संचितीले १५.१ महिनाको वस्तु आयात गर्न पर्याप्त हुने देखिन्छ ।

त्यस्तैगरि, यसले देशलाई चाहिने १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् ।

पछिल्ला महिनामा बिदेशी मुद्राको संचिति बढ्नुमा नेपाल भित्रिने रेमिटान्स प्रमुख कारण हो ।

 

 

प्रतिक्रिया दिनुहोस्