धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रियालाई निरन्तरता दिनु : सर्वोच्च अदालत

काठमाडौं,२१ असार । नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रियालाई निरन्तरता दिन सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश द्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले सो आदेश दिएको हो ।

बोर्ड अध्यक्षका लागि कार्य मूल्यांकन प्रस्तुती दिएका एक सन्तोष नारायण श्रेष्ठले दायर गरेको रिट उपर असार १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

अन्तरिम आदेश प्रयोजनका लागि शुक्रबार दुवै पक्षलाई सर्वोच्च अदालत बोलाइएको थियो । अध्यक्ष नियुक्तिका लागि मुख्य ५ मा छानिएका श्रेष्ठले यो प्रक्रिया रद्द गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पाँच जना उम्मेदवार मध्ये तीन जना अन्तरवार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएपछि सरकारले यो प्रक्रिया रद्द गरेको थियो ।

सर्वोच्चमा रिट पर्नु अघि कानूनी व्यवस्था अनुसार कम्तिमा तीन जनाको नाम हुन पर्नेमा सो नभएपछि समितिले सिफारिस गर्नुपर्ने ब्यवस्था अनुसार नियुक्ति प्रक्रिया रद्द गरिएको थियो । सो प्रक्रिया रद्द भएपछि सर्टलिस्टमा परेर कार्यपत्र र कार्ययोजना प्रस्तुत गरेका श्रेष्ठ रिट लिएर सर्वोच्च पुगेका थिए । अब सर्वोच्चको सो आदेशपछि छनोट समितिले दुई जनामध्ये एक जनालाई नै मन्त्रीपरिषद्ले सिफारिस गर्ने संम्भावना बढेर गएको हो ।

प्रतिक्रिया दिनुहोस्