अन्तत: एसईई नतिजा बिहीबार बिहान प्रकाशन गर्ने बोर्डको निर्णय

काठमाडौँ, १२ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान प्रकाशन गरिने निर्णय गरेको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक (कक्षा १०) नदलाल पौडेलले जानकारी दिए ।बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्न लागिएको हो ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । र पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ९१ हजार ४९७ विद्यार्थीले परीक्षा दिएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिका अनुसार यो पटकको परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको परीक्षा नियन्त्रक पौडेलले बताए । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने उनको भनाइ छ ।

३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउनेछन् । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने उनको भनाइ छ । तर यसपटक भने छिट्टै नतिजा सार्वजनिक गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्