लुम्बिनीले ल्यायो ३८ अर्ब ९५ करोडको बजेट

बुटवल, १ असार । लुम्बिनी सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ ।

लुम्बिनीको आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश सभा वैठकमा उक्त बजेट प्रस्तुत गरेका थिए ।
कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधारका अधिकांश पुराना र अधुरा आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिएर बजेटमा रकम विनियोजन गरिएको छ ।

राजश्व संकलनमा आएको कमीका कारण प्रदेश सरकारले बजेटको आकार गत वर्ष भन्दा करिब २ अर्बले घटाइएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटमा प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने रकमतर्फ १ करोड ४ लाख ६४ हजार विनियोजन गरिएको छ । यस्तै आगामी आर्थिक वर्षको कूल खर्च ३८ करोड ९७ करोड विनियोजन गरिएको छ ।

विनियोजन रकममध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ छुट्याइएको छ ।

आगामी वर्षमा अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान गरिएको छ ।

त्यस्तै, बजेटमा लुम्बिनी प्रादेशिक अस्पतालको १२ सय शय्याको भवन बनाउन एक अर्ब ८० करोड विनियोजन गरिएको छ । यस्तै सोही अस्पतालमा एमआरआई मेसिन खरिद गर्न १५ करोड छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्