प्रधानमन्त्री ओली र मोदीले जनकपुरमा सँगै पूजा गर्ने, यस्ताे छ तयारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदैछन् । भ्रमणको तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर आएको छ । भारतीय इन्डियन फोर्सको हेलिकोप्टरबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख२८ गते बाह्रबिघा मैदानमा अवतरण गर्नेछन्। मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै छन् ।

स्रोतका अनुसार प्रदेश २ सरकारले भने मोदीको हेलिकोप्टर जनकपुर विमानस्थलमा अवतरण गराउन भारतीय पक्षलाई आग्रह गरेको छ । बाह्रबिघामा बालुवा–गिट्टी बढी भएकाले हिँड्न समस्या हुन सक्ने भन्दै यस्तो आग्रह गरेको स्रोतले जनायो ।

मोदी बाह्रबिघा मैदानबाट गाडीमै जानकी मन्दिर जाने भारतीय अधिकारीले नेपाली अधिकारीलाई जानकारी दिएका छन् । तर, नेपाली पक्षले गाडी र पैदल दुवै विकल्प राख्ने गरी तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हेलिकोप्टर भने बाह्रबिघाबाहेक स्थानमा अवतरणको व्यवस्था मिलाउने प्रदेश सरकारको तयारी छ ।

मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी ओली जनकपुर आउने भएका छन् । प्रधानमन्त्री ओलीले मोदीलाई जानकी मन्दिर परिसरमा स्वागत गर्ने र सँगै जानकी मन्दिरमा पूजा गर्ने तयारी भइरहेको स्रोतले जनायो । उनीहरू ३० देखि ४५ मिनेट जानकी मन्दिरमा बस्ने बताइएको छ ।

पूजा सकेलगत्तै प्रधानमन्त्री ओली मन्दिरबाटै काठमाडौं फर्कने कार्यक्रम छ । तर, रक्षामन्त्री ईश्वर पोखरेल भने मोदीको भ्रमणभर जनकपुरमै रहने स्रोतको भनाइ छ ।

भारतीय प्रधानमन्त्री मोदी र उनलाई स्वागत गर्न आउने प्रधानमन्त्री ओलीलाई जानकी मन्दिरले भव्य स्वागत गर्ने भएको छ । जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले दुवै देशका प्रधानमन्त्रीलाई भव्य स्वागत गर्ने तयारी गरिरहेको बताए । उनले भने, ‘दुई देशका प्रधानमन्त्री एकैसाथ जानकी मन्दिरमा आउनु ऐतिहासिक क्षण हो, त्यसलाई विशेष बनाउन हामी कुनै कसर बाँकी राख्दैनौँ ।’

मोदीले सम्बोधन गर्ने मञ्चमा चारजना मात्र राखिने भएको छ । मोदीसँगै प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह मञ्चमा बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस्