१० लाख अवैध भारु सहित दुई जना पक्राउ

काठमाडौ  । सिरहाको लहान नगरपालिकास्थित तरकारी बजारबाट अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको फारबिसगन्ज अररियाका ५० वर्षीय पल्लु राय र नेपाली नागरिक मनिष कुमार यादव रहेका छन् ।

उनीहरुको साथबाट भारतीय रुपैयाँ १० लाख १० हजार ७ सय र नेपाली रुपैयाँ ४ लाख ६१ हजार ५ सय ४० बरामद भएको छ । त्यसमा २ हजारको ४ सय ४२ थान र ५ सयका २ सय ४ थान नोट छन् । भारु २ हजार र पाँच सयको नोट नेपालमा प्रतिबन्ध छ ।

मंगलबार साँझ अनुगमनमा निस्किएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि नगदसहित काठमाडौं पठाइएको छ । पक्राउ परेकाहरुले आफूहरुसँग तरकारी किनबेचको रकम भएको दावी गरेका छन् ।

स्थानीय प्रशासनले भने उनीहरु हुण्डी वा भारतीय मुद्राको अवैध कारोबारी रहेको हुनसक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्