एप्पललाई पछि पार्दै अमेरिकी चिप मेकर कम्पनी एनवीडिया कर्प बन्यो विश्वकै दोस्रो सबैभन्दा मूल्यवान कम्पनी

काठमाडौं, २४ जेष्ठ । अमेरिकी चिप मेकर कम्पनी एनवीडिया कर्प, एप्पललाई पछि पार्दै विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। एनवीडियाको कुल बजार पूँजीकरण ३.०११ ट्रिलियन डलर पुगेको छ। अहिले एप्पल कम्पनीको बजार पूँजीकरण ३.००३ ट्रिलियन रहेको छ।

यससँगै एनवीडिया कर्प यो उचाईमा पुग्ने विश्वको पहिलो कम्प्यूटर चिप कम्पनी बनेको छ। यद्यपि, मार्केट भ्यालुका आधारमा यो कम्पनी माइक्रोसफ्ट कर्पभन्दा पछि छ। तर, शेयरमा भएको वृद्धिले एनवीडियाले छिटै माइक्रोसफ्टलाई पनि पछि पार्ने वाल स्ट्रीटको अनुमान छ। माइक्रोसफ्टको बजार पूँजीकरण ३.१५१ ट्रिलियन डलर छ।

ब्लुमबर्गको एक रिपोर्टका अनुसार, एनवीडियाको शेयरमा यस वर्ष करिब १४७ प्रतिशत वृद्धि भएको छ। शेयरमूल्यमा भएको यस वृद्धिका कारण कम्पनीको मार्केट क्याप करिब १.८ ट्रिलियन डलर बढेको छ। आर्टिफिसियल इन्टेलिजेन्स टास्कलाई सञ्चालित गर्नका लागि प्रयोग हुने चिप्सको माग बढेसँगै कम्पनीको शेयरमा यस्तो वृद्धि देखिएको हो। बुधबार एनवीडिया कर्पको शेयर ५.२ प्रतिशत बढेर १ हजार २२४.४० डलरको रेकर्ड बनाएको थियो।

सन् २००२ मा पनि एनवीडियाले बजार पूँजीकरणको आधारमा एप्पललाई पछि पारेको थियो। त्यो समयमा दुबै कम्पनीको भ्यालुएशन १० अर्ब डलरभन्दा कम थियो। ब्लुमबर्गका अनुसार, एनवीडियाका सिईओ जेन्सेन हुआंगले कम्पनीले हरेक वर्ष आफ्नो एआई एक्सीलरेटर्सलाई अपग्रेड गर्ने योजना बनाइरहेको छ।

पछिल्लो ५ कारोबार दिनमा एनवीडियाको शेयर ६.९३ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको शेयर पछिल्लो एक महिनामा ३२.८८ प्रतिशत र पछिल्लो ६ महिनामा १६९.०८ प्रतिशत बढेको छ। सन् २०२४ मा हालसम्म कम्पनीको शेयर १५४.१९ प्रतिशत बढेको छ भने पछिल्लो १ वर्षमा २१६.७६ प्रतिशत र पछिल्लो ५ वर्षमा ३ हजार २६५.५९ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्