अमेरिका, यूरोप र चीनलगायत देशमा माग घटेसंगै विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट
काठमाडौं,२३ जेठ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ । अमेरिका, यूरोप, र चीनलगायत देशमा माग घटेकाका कारण कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको हो ।
अन्तरराष्ट्रिय बजारमा बुधवार ५ जुलाईको शुरु कारोबार ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ७७.५२ डलर कायम भएको छ । करिब ९०.०० डलरमाथि पुगेको कच्चा तेलको मूल्य केहिदिन यता लगातार घट्दो क्रममा छ । पछिल्ला केहि दिनदेखि कच्चा तेलको मूल्य प्रतिब्यारेल ८०.०० डलर आसपासमा रहेको छ । एक सातामा कच्चा तेलको मूल्य औसत ८ प्रतिशतले घटेको हो ।
त्यस्तै डब्लूटीआई फ्युचर कच्चा तेलको मूल्य पनि एक सातामा ८.३ प्रतिशतले घटेको छ । अमेरिकामा पेट्रोलियम मौज्दात बढ्दा त्यसले समग्र मूल्यमा प्रभाव पारेको हो । अमेरिकी ऊर्जा विभागको तथ्यांक अनुसार अमेरिकामा हाल मौज्दात तेलको परिमाण ३४ करोड ब्यारेल पुगेको छ । अमेरिकामा मे ३१ यताकै उच्च रुपमा यति धेरै परिमाण मौज्दात रहेको हो ।
त्यसैगरि, चीन विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता देश हो । चीनमा घट्दो मागका कारण पनि विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।
पेट्रोलियम उत्पादक तथा निर्यातकर्ता देशहरु र यसका साझेदारहरुको संस्था ओपेक प्लसले तेल उत्पादन कटौती सन् २०२५ सम्मका लागि लम्ब्याउने सम्झौता गरेसँगै विश्वबजारमा यसको मूल्य घट्न थालेको हो । ओपेक प्लसले सन् २०२५ सम्म दैनिक २/२ मिलियन ब्यारेल कच्चा तेल स्वेच्छाकारी रुपमा कटौती गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।
अन्तरराष्ट्रिय बजारमा आएको मूल्य गिरावटले नेपालमा पनि असर पार्दछ । कच्चा तेलको मूल्य घट्दा भारतीय आयल कर्पोरेसनले नेपाललाई दिने तेलको मूल्य पनि घट्ने गरेको छ ।
- एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्