दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं,२० जेठ । नेप्से परिसूचक आइतबार दोहोरो अंकले बढेको छ । यसअघि २ दिन कार्य दिन लगायत घटेपछि आज बजार भने दोहोरो अंकले बढेको हो । आइतबार नेप्से सूचक १३।५१ विन्दुले बढेर २०८३।०४ अंकमा आएको छ । ४ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आजको कारोबारमा २ वटा कम्पनीको सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० समूहका सूचक भने बढेको छ ।
आइतबारको बजारलाई हेर्दा विस्तारै नेप्से सम्हालिने प्रयासमा लागेको अनुमान गर्न सकिन्छ । यसअघि बजेट सार्वजनिक भएयता बजार घटेको थियो । तर अब विस्तारै करेक्सन चक्र पूरा भएको र बजारले पुनः गति लिन सक्ने आशामा लगानीकर्ता बसेका छन् ।
केन्द्रीय बैंकले पनि सेयरको माग बढाउने गरी नियामकीय व्यवस्था गरेको छ । बजेटकै कारणबाट बजार धेरै तल झर्नु पर्ने अवस्था नरहेको जानकारहरुको भनाई छ । सेयर बजारका लगानीकर्ताका लागि बजेटभन्दा पनि मौद्रिक नीतिले बढी महत्व राख्दै आएको छ । सेयर बजारसँग सम्बन्धित विषयमा केन्द्रीय बैंकले लिने नीतिले प्रत्यक्षरुपमा सेयर बजारमा प्रभाव पार्दै आएको छ ।
बैंकमा अधिक तरलता, घट्दोक्रममा रहेको ब्याजदर र संस्थागत लगानीकर्ताका रुपमा चिनिने बैंकहरुले सेयर खरिद गर्न सक्ने सम्भावनाका कारण बजारले क्रमशः गति लिने अनुमान गर्न सकिन्छ ।
बजार वियरिस चक्रमा गएको करिब ३ वर्ष हुन लागेको छ । निकै लामो समय बजार घटेकाले पनि अब विस्तारै सकारात्मक गति लिन सक्ने आशा बढेको देखिन्छ । अझै पनि नीतिगत अवरोधहरु भने कायमै छन् । सेयर धितो कर्जामा लगाइएको सीमा हटाइएको छैन । यसकारण ठूला लगानीकर्ताले चाहेजति सेयर खरिद गर्न सक्ने अवस्था छैन ।
यस दिन ३२५ कम्पनीको ९६ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्