अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार घटेर ३ महिनायताकै न्यून विन्दुमा झर्यो

काठमाडौं,११ जेठ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको शुक्रबार पनि घटेर कारोबार भइरहेको छ । आज घटेसँगै कच्चा तेलको भाउमा लगातार पाँचौं दिन गिरावट आउने भएको हो । यो साताको सबै कारोबार दिनमा तेलको भाउमा गिरावट देखिएको छ । साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड ०.७१% ले घटेर प्रतिब्यारेल ८०.७८ डलरमा झरेको छ ।

यता, अमेरिकी बेन्चमार्क डब्लुटीआई क्रुड पनि ०.७५%ले घटेर प्रतिब्यारेल ७६.२९ डलरमा आएको छ । यी दुवै बेन्चमार्क विगत ३ महिनायताकै न्यून विन्दु नजिक आएको ब्लुमबर्गले उल्लेख गरेको छ । यता, १ साताको अवधिमा ब्रेन्ट क्रुडको भाउमा ३%र डब्लुटीआई क्रुडको भाउमा ४% गिरावट आएको छ । पछिल्लो समय भूराजनीतिक तनाव कायमै रहेपनि उच्च ब्याजदरका कारण तेलको भाउ घटेको छ ।

अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भद्वारा ब्याजदर कटौतीमा अन्योलता देखिएपछि तेलको भाउमा गिरावट आएको हो । अझै लामो समयसम्म ब्याजको लागत उच्च रहने देखिएका कारण आर्थिक वृद्धि र तेलको मागलाई घटाउने विश्लेषण गरिएको छ । मागमा कमी हुने संकेतपछि तेलको भाउ पनि निरन्तर घटेको हो ।

प्रतिक्रिया दिनुहोस्