देशको सार्वजनिक ऋण २४ खर्ब, प्रत्येक नेपालीको थाप्लोमा ८२ हजार २०४ रूपैयाँ

काठमाडौँ, ११ जेष्ठ। नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार बैशाख मसान्तसम्म २३ खर्ब ९७ अर्ब ४३ करोड १६ लाख रुपैयाँ सार्वजनिक ऋण पुगेको हो।

२०७८ को जनगणनाअनुसारको जनसंख्याका आधारमा प्रति नेपाली ८२ हजार २०४ रुपैयाँ ऋण देखिन्छ । तथ्यांकअनुसार चालु आवको १० महिनामा मात्रै सरकारको ऋण ९८ अर्ब ८ करोड रुपैयाँ थपिएको छ । चालु आवको सुरुमा अर्थात् गत असार मसान्तसम्म कुल सार्वजनिक ऋण २२ खर्व ९९ अर्ब रूपैयाँ रहेको थियो ।

यो १० महिनामा त्यो ९८ अर्व आठ करोड थप भएर २३ खर्व ९७ अर्ब पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

सरकारको कुल ऋण कुल ग्राहस्थ उत्पादन जीडीपीको तुलनामा ४२.०२ प्रतिशत अनुपात हो। तथ्यांकअनुसार बैशाखमा मात्रै कुल सार्वजनिक ऋण ११ अर्व ६४ करोड रुपैयाँ थपिएको छ। कुल ऋणमा आन्तरीक ११ खर्ब ८४ अर्ब ४८ करोड रुपियाँ र बाह्य १२ खर्ब १२ अर्ब ९५ करोड १२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्