३३ अर्ब अपचलनको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक शर्मा विरुद्ध अनुसन्धान प्रतिवेदन तयार

काठमाडौं, ११ जेष्ठ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।

सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित विभागले जिल्ला सरकारी वकिलको कार्यालय, भक्तपुरमा अनुसन्धान प्रतिवेदन बुझाउँदैछ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गर्नेछ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको शर्माविरुद्ध ३२ अर्ब ९० करोड विगो मागदाबीसहित अनुसन्धान प्रतिवेदन तयार गरेको हो । सम्पत्ति शुद्धीकरणको अभियोगमा यो हालसम्मकै ठूलो विगोसहितको मुद्दा हो ।

विभागले शर्मासहित उनकी पत्नी गीता शर्मालाई पनि मुद्दा चलाएको छ । त्यसैगरी सबिना न्यौपाने, मन्दिप खवास, तेजबहादुर तामाङ, पुष्कर मल्ल, सुशिल बानिया र प्रदिप भट्टराईलगायत विरुद्ध पनि आरोप छ ।

शिव शिखर सहकारीका पूर्वअध्यक्ष शर्माले भारतमा पनि खोलेका थिए संस्था
उनले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, भक्तपुर, तल्सी बहुमुखी सहकारी, मोरङमा सर्वसाधारणले राखेको बचत अपचलन गरेको आरोप थियो ।

त्यो रकम शिखर अर्गनाइजेसन, गार्डेन मार्ट, शिवशिखर एग्रोलगायत १० कम्पनीको नाममा खडा गरेका थिए । ती कम्पनीको नाममा ५ अर्ब १३ करोड रुपैंया कृत्रिम ऋणमार्फत अपचलन गरेको विभागको आरोप छ ।

गार्डेन मार्ट तुलसी मोटर पम्प, तुल्सी अनुसन्धान केन्द्र तुल्सी राइस एण्ड च्यूरा उद्योग लगायतका कम्पनीको नाममा १ अर्ब १६ करोड रुपैंया थप अपचलन गरेको आरोप उनीमाथि छ । उनीमाथि ७ अर्ब ५८ करोड रुपैयाँ गैरकानुनी रुपमा प्राप्त गरेको आरोप पनि छ ।

केदारनाथ र गीता शर्मामाथि तुल्सी सहकारीको १६ करोड ९७ लाख अनि शिवशिखर सहकारीमा एक अर्ब ११ करोड रुपैंया अपचलन गरेको आरोप छ ।

केदारनाथले ५९ वटा कम्पनीमा लगानी गरेका थिए भने पत्नी गीताले १३ वटा कम्पनीमा लगानी गरेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्