नेपाल पुनर्बीमा कम्पनीको सीईओको लागि ५ जना सर्टलिस्टमा

काठमाडौं,८ जेठ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत का लागि उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको मिति प्रकाशित भएको छ ।

उम्मेदवार छनौट तथा सिफारिस समितिका अनुसार प्रमुख कार्यकारी अधिकृत का लागि सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता आगामी जेठ ११ गतेदेखि हुने सूचना प्रकाशित छ ।

आवेदन दिएका मध्ये समितिले सर्टलिस्टमा छनौट भएका दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापालाई अन्तरवार्ताका लागि बोलाएको हो ।

सर्टलिष्टमा पर्नेमा भण्डारी नेपाल पुनर्बीमा कम्पनीका निमित्त सीईओ हुन् भने श्रीमान कार्की साबिक बीमा समितिका पूर्वकामु कार्यकारी निर्देशक एवं सिटिजन लाइफ इन्स्योरेन्सका पूर्वस्वतन्त्र सञ्चालक हुन् ।

बुद्धकाजी श्रेष्ठ भने साबिक युनाइटेड इन्स्योरेन्सका पूर्वसञ्चालक हुन्। त्यसैगरी, नारायणकुमार भट्टराई साबिक गुराँस लाइफ इन्स्योरेन्सका पूर्वसीईओ र थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन् ।

सर्टलिष्टमा परेका उम्मेदवारहरुको अन्तरवार्ता आगामी जेठ ११ गते विहान ८ः३० बजेदेखि मध्याह्न १२ः३० बजेसम्मको समय निर्धारण गरिएको छ । प्रस्तुतीकरण तथा अन्तरवार्ता दुबै कम्पनीको थापाथलीस्थित केन्द्रीय कार्यालयमा हुने छ ।

समितिले उम्मेदवारहरुलाई आफूले पेस गरेका सम्पूर्ण कागजातहरुको सक्कल प्रति साथमा लिई आउन पनि आग्रह गरेको छ । उम्मेदवारले दरखास्त फाराम साथ पेस गरेको व्यावासयिक कार्ययोजना प्रस्तुतीकरण गर्नुपर्ने छ ।

तत्कालीन सीईओको कार्यकाल समाप्त भएपछि कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट सीईओका लागि आवेदन मागेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्