वित्तीय लगानी बढाउन रियलस्टेट र सवारी साधन कर्जामा राष्ट्र बैंकको नरम नीति
काठमाडौं,४ जेठ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी नबढेपछि रियल स्टेट क्षेत्रमा कर्जा दिन राष्ट्र बैंक नरम बनेको छ । केन्द्रीय बैंकले जग्गा खरिदको लागि दिइने कर्जाको सिमा बढाएर रियल स्टेट क्षेत्रमा कर्जा बढाउन खोजेको देखिन्छ ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ ।
अहिले घरजग्गाको कारोबार न्युन रहेको कारण त्यसको असर अर्थतन्त्रमानै परिरहेको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा समेत ९ महिनासम्ममा ४ प्रतिशत मात्र बढेको छ । चालु आर्थिक वर्षमा साढे ११ प्रतिशत कर्जा लगानीको लक्ष्य राखेपनि कर्जा लगानी न्युन भएपछि केन्द्रीय बैंकले कर्जा लगानीमा केहि लचकता अपनाएको हो । मौद्रिक नीतिमा गरेको यो व्यवस्थाले घरजग्गा काराबार बढाउने अनुमान गरिएको छ ।
त्यसैगरि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिने समीक्षामा उल्लेख छ । यसले सवारीसाधन खरिदको लागि जाने कर्जाको ब्याजदर केहि घटाउन सहयोग पुर्याउने छ भने बैंकहरुलाई यस क्षेत्रमा कर्जा लगानी बढाउन मद्त पुग्ने छ ।
अहिले ब्याजदर घट्दै गएको र पर्यटक आगमन बढिरहेका अवस्थामा राजनीतिक स्थिरता सहित तीनै तहका सरकारको पुँजीगत खर्च बढेमा आर्थिक गतिविधिहरुमा सुधार भई कर्जा माग बढ्ने एवं कर्जा असूलीमा सुधार आउँदै जाने राष्ट्र बैंकको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्