पर्यटकको संख्या महिनामा लाखौ बढ्न थाल्यो

काठमाडौं, २० बैशाख । सन् २०२४ मा पर्यटक आगमन औसत मासिक १ लाखभन्दा माथि पुगेको छ ।

नेपाल पर्यटन बोर्डका रिपोर्ट अनुसार जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख १६ हजार ६९ पर्यटक नेपाल आएका छन् । यस आकडाअनुसार मासिक १ लाख ४ हजार १७ पर्यटक नेपाल आएको देखिन्छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अप्रिलमा मात्र १ लाख ११ हजार ३ सय ७६ पर्यटक नेपाल आएका छन् ।

आकडाअनुसार लगातार दोस्रो महिना (मार्च र अप्रिल) १ लाखमाथि पर्यटक आएका हुन् । त्यसअघिका दुई महिना जनवरी र फेब्रुअरीमा १ लाखभन्दा कम पर्यटक आए पनि पछिल्लो दुई महिनाको आगमनले औसत १ लाखमाथि पर्यटक आगमन भइरहेको देखाउँछ ।

नेपालले भारतीय पर्यटक गणना गर्दा हवाई मार्गबाट आउनेलाई मात्र मान्छ । सोहीकारण स्थलमार्गबाट आउने ठूलो संख्याका भारतीय भने पर्यटकमा गणना हुँदैनन् ।

भारतीय पहिलो र अमेरिकी, चिनियाँ दोस्रो प्रतिस्पर्धामा

नेपाल आउने पर्यटकमध्ये भारतीय पहिलो स्थानमा छन् । पछिल्लो चार महिनामा भारतबाट मात्र १ लाख १० हजार ५ सय ७३ पर्यटक आएका छन् ।

अप्रिल २०२४ मा मात्र भारतबाट ३० हजार १ सय ५८ जना नेपाल आएका छन् । मार्च, अप्रिल र मे भारतमा अधिक गर्मी हुने गर्छ । यो समयमा नेपालका शितल ‘हिलस्टेसन’ मा पर्यटक आकर्षित गर्न सकिने सम्भावना भए पनि त्यसो गर्न नसकेको देखिन्छ ।

उता, दोस्रो स्थानका लागि भने चिनियाँ र अमेरिकी पर्यटकबीच प्रतिस्पर्धा देखिन्छ । चार महिनामा चीनबाट ३८ हजार २ सय ९० आएका छन् । अप्रिलमा मात्र चीनबाट ९ हजार ७ सय ५० आएका छन् । यो अप्रिलमा आएका कुल पर्यटकको तेस्रो बढी हिस्सा हो ।

चार महिनामा अमेरिकाबाट ३६ हजार ८ सय ४६ पर्यटक नेपाल आएका छन् । अप्रिलमा मात्र ९ हजार ९ सय ४७ अमेरिकी पर्यटक नेपाल आएका छन् । यो अप्रिलमा आएका कुल पर्यटकमा दोस्रो ठूलो हिस्सा हो ।

अप्रिलको पर्यटक आगमन २०१९ पछिकै धेरै हो । २०१९ अप्रिलमा १ लाख ९ हजार ३ सय ९९ आएका थिए । २०२० पछि भने कोभिड महामारी सुरु भयो ।

त्यसपछि २०२० अप्रिलमा १४, २०२१ मा २२ हजार ७ सय ३२, २०२२ मा ६१ हजार ५ सय ८९ र २०२३ मा ९८ हजार ७ सय ७३ पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा छ ।

यसपालि अप्रिलमा चौथो धेरै पर्यटक बेलायतबाट आएका छन् । बेलायतबाट ५ हजार ३ सय ९१, अस्ट्रेलिया ४ हजार १ सय १०, बंगलादेश ४ हजार ३, फ्रान्स ३ हजार ७ सय ५५, जर्मनी ३ हजार २ सय ७०, रुस २ हजार ९ सय ७७ र मलेसियाबाट २ हजार ३ सय १० पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्