नेपालले चौथो टी-२० खेलमा आज वेष्टइण्डिज ए सँग खेल्दै

काठमाडौं, २० बैशाख । नेपालले चौथो टी-२० खेलमा आज वेष्टइण्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ ः१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

पाँच खेलको सिरिजमा वेष्टइण्डिज ए २(१ले अघि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि १० रन र ७६ रनले पराजित भएको थियो ।

नेपालले बुधबार अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी(२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेको छ ।

यसअघि तीन खेलमा विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली टुङ्गो लगाउन नेपालले परीक्षण मात्रै गरेको थियो । त्यसैले आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्न पाएको थिएन । तर आज नेपालले विश्वकप खेल्ने प्लेइङ ११ मैदान उतार्ने सम्भावना छ । विश्वकपमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्नुअघि नेपालको राम्रो परीक्षा हुनेछ ।

ओपनर कुशल भुर्तेल पछिल्लो समय लयमा छैनन् । नेपालले उनीमाथि भरोसा गर्दै आएको छ । अर्का ओपनर आसिफ शेख यसअघि तीन खेलमा थिएनन् । उनले आज खेल्ने छन् । ओपनरबाट नेपाल राम्रो प्रदर्शन आवश्यक छ । ।

मध्यक्रममा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र सन्दीप जोराको प्रदर्शन महत्वपूर्ण हुनेछ । कप्तान रोहितले सुरुवाती दुई खेलमा ११२ र ७१ रन बनाएका थिए । तेस्रो खेलमा भने विश्राम गर्दै दीपेन्द्रलाई कप्तानी दिएका थिए । आज भने रोहित खेलमा फर्किने छन् ।

वेष्टइण्डिजका ब्याटर स्पिनमा बढी संघर्ष गरेको हुँदा ललित र सागर ढकाल दुबैमा मैदान उतार्ने सम्भावना रहन्छ । तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र अभिनाश बोहराको सम्भावना छ ।

विश्वकप टोलीमा पर्न नसकेका लोकेश बम, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी र आरिफ शेखले आजको खेलमा खेल्ने मौका नपाउने सम्भावना छ । मुख्य प्रशिक्षक मोन्टी देशाईले तेस्रो खेलपछि बाँकी दुई खेलमा विश्वकप खेल्ने टोली नै मैदान उतार्ने बताएका थिए ।

उता वेष्टइन्डिजका ओपनर जोनसन चार्ल्सले तेस्रो खेलमा नेपालविरुद्ध ११९ रन बनाएका थिए । उनलाई आउट गर्न सके नेपाल खेलमा बढी हाबी हुनसक्छ । आन्द्रे फ्लेचरको प्रदर्शन महत्वपूर्ण हुनेछ । नेपाली ब्याटरले दुई स्पिनर गुडाकेश मोती र हेडन वाल्स जुनियरविरुद्ध भने राम्रो खेल्नुपर्ने हुन्छ ।

पाँचौ तथा अन्तिम खेल शनिबार हुनेछ । आज नेपाललाइृ जित्नै पर्ने दवाव छ ।

 

प्रतिक्रिया दिनुहोस्