अस्ट्रेलियामा टेम्पोररी ग्र्याजुएट (टीआर) भिसामा विदेशी विद्यार्थीलाई थप कडाइ

काठमाडौं, १४ बैशाख। अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई अध्ययनपछि उपलब्ध गराउँदै आएको टेम्पोररी ग्र्याजुएट (टीआर) भिसा आवेदन दिन उमेर हद र समयावधिमा व्यापक परिवर्तन गरिएको छ ।

यसअघि अध्ययनपछि ५० वर्षसम्मका विद्यार्थीले टीआर भिसाको लागि आवेदन दिन पाउनेमा अब यसलाई १५ वर्ष घटाएर ३५ वर्ष पुर्‍याइएको छ । त्यस्तै टीआर भिसाको अवधि पनि घटाइएको छ ।

बिहीबार अस्ट्रेलिया सरकारले गरेको घोषणाअनुसार स्नातकोत्तर पढेको विद्यार्थीले तीन वर्षको टीआर पाइरहेकोमा यसलाई घटाएर दुई वर्ष बनाइएको छ । यो परिवर्तन आगामी जुलाई १ देखि लागू हुनेछ ।

अस्ट्रेलियामा कार्यरत रजिस्टर्ड माइग्रेसन एजेन्ट सनत गुप्ताका अनुसार भोकेसनल वा हाइअर डिग्री पढेर अस्थायी आवासको लागि आवेदन दिन अब ३५ वर्ष कटेको हुनुहुँदैन भने टीआरको अवधि पनि घटाएर कोभिड अघिको जस्तै १८ महिना बनाइएको छ ।

यसका अतिरिक्त अस्थायी आवास अनुमतिका लागि आफूले पढेको विषय वा हासिल गरेको सीप अस्ट्रेलियाको मध्यम र रणनीतिक सीपको सूचीमा सूचीकृत भएकै मध्य हुनुपर्छ ।

त्यस्तै स्नातक पढेको २ वर्ष, सामान्य कोर्षमा स्नातकोत्तरले २ वर्ष र मास्टर्स बाइ रिसर्च गरेकाले ३ वर्षको अस्थायी आवास अनुमति पाउनेछन् । विद्यावारिधि गरेकाहरूले पनि ३ वर्षको मात्र अस्थायी आवास अनुमति पाउनेछन् ।

सरकारले गरेको यी बदलावसँगै यसअघिको दुई वर्ष अस्थायी आवास अवधि बढाउने गरी सरकारले गरेको निर्णय रद्द भएको छ । नयाँ निमय लागू भएसँगै अस्थायी आवास अनुमति अवधिमा कुनै बढोत्तरी हुनेछैन ।

भारतीय विद्यार्थीलाई सहज

अन्य मुलुकबाट अस्ट्रेलिया आएर पढिरहेका विद्यार्थी यी नीतिगत परिवर्तनले केही कठिनाइ बढ्ने भए पनि भारतीय विद्यार्थीको हकमा भने यसको प्रभाव न्यून रहनेछ ।

गत डिसेम्बरमा भारत र अस्ट्रेलिया सरकारबीच भएको एक सम्झौतामा अस्ट्रेलियाको नयाँ आप्रवासन नीतिले अध्ययनपछिको अस्थायी भिसा नीति सम्बन्धी परिवर्तनबाट भारतीय विद्यार्थी प्रभावित नहुने उल्लेख छ । गत वर्ष हस्ताक्षर भएको इण्डिया( अस्ट्रेलिया कर्पोरेसन एण्ड ट्रेड एग्रिमेन्टबाट भारतीय विद्यार्थी लाभान्वित हुने भएका हुन् ।

खासगरी आईटी र टेक्नोलोजीमा स्नातक भारतीय विद्यार्थीले तीन वर्षको टीआर भिसा पाउनेछन् भने जुनसुकै विषयमा स्नातकोत्तर सकेकाले ३ वर्ष र विद्यावारिधि सकेका ४ वर्षको अस्थायी आवास अनुमति पाउने उल्लेख छ ।

राम्रो सीप र जागिर नभएका विद्यार्थी बढी प्रभावित हुन्छन्

अस्ट्रेलियन सरकारले आउँदो जुलाई २०२४ बाट केही नीतिगत बदलाव गर्दैछ । जुलाई २०२४ सम्म आवश्यक विधेयक पारित भएको खण्डमा ३५ कटेका व्यक्तिहरूले ४८५ भिसा पाउने छैनन् ।

भर्खरै स्नातक सकाएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलियामा काम जारी राख्न प्रदान गरिने व्यवस्थालाई ४८५ अर्थात् टेम्पोररी ग्र्याजुयट भिसा भनिन्छ । यो भिसाले पढाइपछि आयआर्जन र विषयगत दक्षता अनुसार काम गर्ने अवसर सुनिश्चत गरेको थियो ।

अहिले स्नातकोत्तरको कोर्ष सकेर विद्यार्थीले तीन वर्ष ४८५ भिसा पाउने गरेका छन् भने जुलाईपछि यो घटेर २ वर्ष हुनेछ । केही सीमित कोर्ष पूरा गरेकाहरूले दुई वर्ष ४८५ एक्स्टेन्सन पाउँदै थिए तर त्यो पनि जुलाई पछि हटाइनेछ ।

डिसेम्बर २०२४ मा घोषणा भएको अस्ट्रेलियन सरकारको आप्रवासन रणनीति अनुसार यो कदम चाल्न लागिएको हो । ३५ वर्ष अधिकतम् उमेर बनाउनुको पछाडि मुख्य कारण यो भिसा ‘अर्ली करिअर प्रोफेसनल‘को लागि हो । जसले अस्ट्रेलियाको अर्थतन्त्रमा लामो समय टेवा पुर्‍याउनेछन् ।

यसको सिधा असर पीएचडीका विद्यार्थी र पाको उमेरमा पर्यटन भिसामा आएर विद्यार्थीमा गएका व्यक्तिहरूलाई पर्न जानेछ । यो परिवर्तन गरिरहँदा यसबाट पर्न जाने असरलाई सोचेर अस्ट्रेलियन सरकारले विकल्पका रूपमा अरु भिसाहरू पनि लिएर आउँदैछ, जुन छिट्टै घोषणा हुनेछ ।

यो नियम लागू भएपछि ३५ वर्ष कटेका विद्यार्थीहरूले अरु नै कुनै अन्य भिसाको विकल्प खोज्नुपर्ने हुन्छ । आप्रवासन रणनीतिमा घोषणा गरेअनुसार ‘स्किल्स इन डिमाण्ड’ भिसा पनि छुट्टै आउनेछ ।

यसको लागि भने पढाइ सकेलगत्तै राम्रा सीप र तलब प्राप्त हुने जागिर खानु जरुरी छ । त्यसर्थ ३५ वर्ष कटेका अथवा कट्न लागेका र ४८५ भिसा आवेदन दिन नसक्ने विद्यार्थीहरूले अहिलेदेखि नै राम्रो जागिर खोज्न थाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्