इटहरीमा भिषण आगलागी, ४ पसल र घर जले, १ करोड बराबरको क्षति

काठमाडौंसुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गएराति आगलागी हुँदा ४ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। अगलागीबाट कम्तीमा १ करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा समयमा नै वारुण यन्त्र नपुग्दा ठूलो नोक्सानी व्यहोर्नु परेको स्थानीयवासीले गुनासो गरेका छन्। राति १२ बजेतिर सबै सुतेको तथा पसल भएका ती घरमा प्रायः मानिस नभएका स्थितिमा एका–एक विद्युत् चुहावट भई आगो सल्किएको थियो। पसलमा भएका कम्तीमा ११ खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्कँदा आगोले विसाल रुप लिएको स्थानीयवासीले बताएका छन्।

आगलागी भएपछि करीब ५ सय मिटर पर रहेको उपमहानगरपालिकाको दमकल बोलाउँदा तत्काल नआएको तथा १८ किमी पश्चिममा रहेको इनरुवा नगरपालिकाको दमकल आएपछि मात्र आगो निभाउन सुरु गरिएकोले पनि बढी नोक्सानी हुन पुगेको आगलागीपीडित पदम अधिकारीले बताए।

आगो लागेर अधिकारी, बालकुमार राई, विदेशीकुमार श्रेष्ठ र मनकुमारी राईको पसल र घर पूर्णरुपमा नष्ट भएका छन्। घर तथा पसलमा रहेका फ्रिज, सुनचाँदी, लत्तापकडा, खाद्यान्न, भाँडावर्तनलगायत सम्पूर्ण उपभोग्य वस्तुसमेत नष्ट भएको बताइएको छ।

उक्त आगलागीमा ४ पसल तथा घरसँगै पूर्वपट्टि लालधन राईको चारतले पक्की घर र पश्चिमपट्टि मोहनसिंह तामाङको पक्की घरमा पनि नोक्सानी पुगेको छ। पीडितमध्ये अधिकारीको सबैभन्दा बढी करीब ४५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको बताइएको छ।

आगो प्रहरी, स्थानीयवासी र दमकलको सहयोगले नियन्त्रणमा लिएको बताइएको छ। समयमा नै आगो नियन्त्रण भएकाले बजार क्षेत्रमा अरु सम्भावित ठूलो जनधनको नोक्सानी हुनबाट जोगिएको स्थानीयवासीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्