इरान–इजरायलबीच युद्धको सम्भावनाले बढ्न थाल्यो कच्चा तेलको मूल्य

काठमाडौं,३० चैत । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य शुक्रबार पुनः उकालो लागेको छ । अन्तराष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ड क्रुड’ शुक्रबार बढेर पुनः प्रतिब्यारेल ९० डलर माथि गएको छ । अमेरिकी मुद्रास्फीति दर बढेको तथ्यांक सार्वजनिक भएपछि ब्याजदर कटौतीको सम्भावना कम बन्दा बिहीबार कच्चा तेलको भाउ घटेर ९० डलर भन्दा तल बन्द भएको थियो ।

इरान र इजरायलबीच युद्धको सम्भावना बढ्न थालेपछि शुक्रबार भाउ पुनः उकालो लागेकोे छ । शुक्रबार ब्रेन्ट क्रुड ०.८४५ ले बढेर प्रतिब्यारेल ९०.४९ डलर आसपास कारोबार भइरहेको छ । यता, अमेरिकी बेन्चमार्क ‘डब्लुटीआई क्रुड’ पनि शुक्रबार १५ ले बढेर ८५.८७ डलर आसपास कारोबार भइरहेको छ ।

इरान र इरान समर्थित विद्रोशी समूहले इजरायलमा हमला गर्ने तयारी गरेको बाहिर आएपछि तेलको मूल्य पुनः बढ्न थालेको हो । यस्तै, तेलका कारोबारीहरुले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको आपूर्ति र माग सम्बन्धी रिपोर्ट पनि पर्खिरहेको ब्लुमबर्गले उल्लेख गरेको छ ।
गत अप्रिल, १ मा इजरायलले सिरियास्थित इरानको कूटनीतिक परिसरमा गरेको आक्रमणको बदलामा इरानले इजरायलमाथि आक्रमण तयारी गरिरहेको अमेरिकाले रिपोर्ट सार्वजनिक गरेको छ ।

मध्यपूर्वमा थप द्वन्द्व उत्पन्न हुँदा तेलको आपूर्ति पनि थप प्रभावित हुने भएकाले भाउ उकालो लागेको हो । यस अगाडिनै इजरायल–हमास र रुस–युक्रेन युद्धका कारण कच्चा तेलको भाउ पहिलेदेखि नै विगत ६ महिनाकै उच्चतम विन्दुमा थियो । युद्धको संशय रहदा गर्दा र भूराजनीतिक तनाव कायमै रहेमा तेलको भाउ पनि माथिल्लो बिन्दुमै रहने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्