४३९ मेगावाटको बेतन कर्णाली अर्थजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने
काठमाडौं,२६ चैत । बेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले बेतन कर्णाली अर्थजलाशययुक्त जलविद्युत आयोजना निर्माणको लागि अनुमति पत्र माग गरेको छ । कम्पनीले विद्युत उत्पादन अनुमति पत्रको लागि विद्युत विकास विभागमा आवेदन दिएको हो ।
यस संगै विद्युत विकास विभागले प्रस्तावित वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्दा प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र आफ्नो लिखित राय सुझाव दिन विभागले आग्रह गरेको हो । विभागका अनुसार विद्युत विकास विभाग वा कम्पनीको कार्यालयमा राय सुझाव पेश गर्न सकिने छ ।
४३९ मेगावाट क्षमताको यस अर्थजलाशययुक्त आयोजनाले सुर्खेत जिल्लाको पंचपुरी नगरपालीका र अछाम जिल्लाको ढकारी गाउँपालिका को धेरै वडाहरु प्रभाव पार्छ । कम्पनीले कर्णाली नदीमा बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना प्रस्ताव गरेको हो । प्रस्तावित यस आयोजनाको कुल जडित क्षमता करिब ४३९ मेगावाट हो ।
यसका लागि सुर्खेत जिल्लामा पर्ने चौकुने गाउँपालिका र अछाम जिल्लामा पर्ने ढकारी गाउँपालिकाको सिमानामा बग्ने कर्णाली नदीमा करिब ९० मिटर अग्लो बाँध बनाईनेछ । सो बाँधका कारण कर्णाली नदीमा करिब ५.४२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १६१६.९५ लाख घन मिटर क्षमताको जलाशय बन्नेछ । पानीको डिजाइन बहाव सुक्खा समयमा करिब ५३६ घन मिटर प्रति सेकेण्ड र बर्खा याममा करिब ५५१.३३ घन मिटर प्रति सेकेण्ड हुने गरी ९९.१३ मिटरको कुल हेड प्रयोग गरी बार्षिक करिब २३६९.८८ गिगावाट घण्टा बराबरको उर्जा उत्पादन गर्ने गरि आयोजनाको डिजाईन गरिएको छ । बाँधस्थलबाट करिब २०१७.२६,२०११.१५ र २०१७.३९ मिटर लामो ३ वटा हेडरेस सुरुंग र करिब १५१.८ मिटर लामो ३ वटा पेनस्टक पाईप मार्फत पानीलाई ढकारी गाउँपालिका वडा नं. ६ मा बनाईने भूमिगत विद्युत गृहमा ६ वटा टर्वाईनमा खसालि विद्युत उत्पादन गरिनेछ ।
विद्युत उत्पादन पश्चात निस्काने पानीलाई करिब २९६.९२ मिटर लामा ६ वटा टेलरेस सुरुंगहरु र ४९६.२७ मिटरको खुल्ला निकास नहर० पुनः कर्णाली नदीमा नै छोडिनेछ ।
यस आयोजनाबाट सुर्खेत र अछामका तीन सय ८४ परिवार प्रभावित हुने भएका छन् । कम्पनीका अनुसार तीन सय ३१ परिवारले घरजग्गा दुवै गुमाउने र ५३ परिवारले घर मात्र गुमाउने छन् ।
आयोजनाले तीन सय ३१ परिवारको ७० हेक्टर जग्गा अधिग्रहण गर्ने तयारी छ । यसबाट तीन सय ३८ निजी घर संरचना प्रभावित हुनुका साथै ३५ जना व्यापार व्यवसायबाट विस्थापित हुने छन्। आयोजना निर्माणबाट तीन झोलुङ्गे पुल, एउटा लघु जलविद्युत, एउटा मन्दिर, आठ खानेपानी धारा र दुई सिँचाइ कूलो प्रभावित हुनेछन् ।
कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब छ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । शेयर संरचना अनुसार कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५, नेपाल विद्युत् प्राधिकरणको १०, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १०, प्रभावित बासिन्दाको १०, सर्वसाधारणको १३ र आयोजना प्रभावित क्षेत्रका अति विपन्न परिवारको दुई प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । यहाँबाट उत्पादित विद्युत्ले पहिलो वर्ष रु १४ अर्ब ५० करोड तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि रु १८ अर्ब ३७ करोड २१ लाख वार्षिक आम्दानी गर्ने अनुमान गरिएको छ ।
आयोजना सञ्चालनबाट प्राप्त हुने रोयल्टीको २५ प्रतिशत स्थानीय सरकार, २५ प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत सङ्घीय सरकारले राख्ने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्