रेमिट्यान्स पुनः लयमा फर्कियो, फागुनमा भित्रियो १ खर्ब २२ अर्ब
काठमाडौं, २२ चैत । यस वर्षको माघमा केही सुस्ताएको रेमिट्यान्स फागुनमा पुनः लयमा फर्किएको देखिएको छ ।
फागुन २०८० मा १ खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो चालु आर्थिक वर्ष (आव) २०८०।८१ को औसतः मासिक विप्रेषण आप्रवाहको हाराहारी हो । तर, माघमा भने १ खर्ब ६ अर्ब रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिना (साउन–फागुन)मा भने कुल ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अनुसार यो वर्ष मासिक औसतः १ खर्ब २० अर्ब १५ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।
यस वर्ष फागुनसम्म आएको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा विप्रषण आप्रवाह १८.८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो विप्रेषण १४.८ प्रतिशतले बढेको थियो ।
यस वर्ष श्रम स्वीकृति लिने कामदारको संख्या भने केही घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुनसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ८६ हजार ९३२ रहेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्