सुन तस्करीका नाईके गोरे पक्रन डिफ्यूजन नोटिस जारी !

काठमाडौं । प्रहरी अधिकारीकै मिलेमतोमा नेपालमा संगठित सुन तस्करीको र्‍याकेट चलाउँदै आएका गोरे भनिने चुडामणि उप्रेतीको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ ।
प्रहरी स्रोतका अनुसार साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती नेपाल बाहिर रहेको आंशकमा मोरङ प्रहरीको सिफारिसमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले उनीविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो ।

अब इन्टरपोलको सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गोरेको खोजी गर्नेछन् ।

साढे ३३ केजी सुन तस्करी एवं उर्लाबारीका सनम शाक्यको हत्या योजनाकार उप्रेतीले नै महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकारीलाई घटना बारे जानकारी गराएका थिए । तर, टोली विराटनगर पुग्दा नपुग्दै उनी फरार भइसकेका थिए ।

महाशाखाका अधिकारीले ५ करोड रुपैयाँको डिलिङमा शाक्यको शव व्यवस्थापन गर्ने जिम्मेवारी लिएको आरोप लागेको छ ।

यद्यपि, महाशाखाका तत्कालिन प्रमुख दिवेश लोहोनीले भने त्यसलाई नकार्दै आएका छन् । उनले गोरेसँग मिले जस्तो गरेर उनलाई नै नियन्त्रणमा लिने योजना रहेको दाबी गर्दै आएका छन् ।

हरेक गतिविधि तत्कालिन महानिरीक्षक प्रकाश अर्याललाई जानकारी गराएरै भएको भन्दै तत्कालिन महाशाखा प्रमुख लोहोनीले सरकारद्वारा गठित छानबिन समिति समक्ष बयान दिएका छन् ।

सोही आधारमा अर्याललाई समेत समितिले शंकाको घेरामा राखेको छ । त्यसबीच केही प्रहरी अधिकारीकै सहयोगमा गोरेलाई भगाइएको आशंका गरिएको छ ।
घटनामा संलग्न हालसम्म २७ जना पक्राउ परिसकेका छन् । २१ जना फरार छन् । ३८ जनाको सम्पत्ति रोक्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्