एशियन लाइफको प्रस्तावित बोनस किन आधा घट्यो ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन १४ गते प्रस्ताव गरेको १२ प्रतिशत बोनस बीमा समितिबाट स्वीकृत नभएपछि आधा घटेको छ । बीमा समितिबाट स्वीकृत नभएपछि कम्पनी सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले ६ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको कम्पनी संचालक समितिको बैठकले विद्यमान चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले ४ करोड ८३ लाख ५५ हजार बराबरको बोनस तथा २५ लाख ७७ हजार ९०० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले कर्जा तथा लगानीमा प्रयाप्त व्यवस्था सहित परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएपछि कर्जा तथा लगानीमा व्यवस्था थप गर्नुपर्दा बोनसदर कम गर्नुपरेको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।
दुई अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा फागुन १३ गतेदेखि ५० प्रतिशत बिक्रीमा ल्याएको थियो । हकप्रदलाई समेत बोनस समायोजन गर्दा अहिले प्रस्ताव गरेको बोनस ४ प्रतिशत कायम हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी ८५ करोड ३९ लाख नाघ्नेछ । बोनस र हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड ६६ लाख रुपैंयाँ नाघ्नेछ ।
प्रतिक्रिया दिनुहोस्