यस वर्षको एसईईको तयारी अन्तिम चरणमा, चैत १५ गतेबाट २७ गतेसम्म

काठमाडौं, ५ फागुन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको एसईइ परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
बोर्डले चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने गरि परीक्षा तालिका तय गरेको छ । यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय जनाउको छ ।
७४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पठाइएको हो । काठमाडौँ उपत्यकाको हकमा २२÷२३ वटा प्रहरी कार्यालयमा पठाउनुपर्ने भएकाले केही समय लाग्ने बोर्डले जनाएको छ ।
बेर्डका कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार
काठमाडौँ बाहेकका जिल्ला र्पुयाइकेको र काठमाडौँका प्रहरी चौकी पर्याउन भने १÷२ दिन लाग्ने छ । यहाँ २२÷२३ ठाउँमा पठाउनुपर्छ । भित्र ट्रकमा पठाउन मिल्दैन । सानो गाडीमा पठाउनुपर्ने हुन्छ । त्यो बाहेक प्रश्नपत्रबाहेकको प्रदेश र जिल्लाले गर्ने काम पनि भइरहेको छ’ पौडेलले भने । जिल्ला प्रहरी कार्यालयमा पठाइएका प्रश्नपत्रहरू परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि मात्रै सुरक्षासहित सम्बन्धित परीक्षा केन्द्रमा पठाइनेछन् । त्यस्तै उत्तरपुस्तिका समेत सातै प्रदेशबाट पठाउने काम भइसकेको छ । प्रश्नपत्र बोर्डले पठाउने गरेको छ भने उत्तरपुस्तिका प्रदेश सरकारले पठाउने गरेको छ । त्यस्तै परीक्षा सञ्चालन गर्न आवश्यक पर्ने खर्च समेत प्रदेश सरकारबाटै हुने परीक्षा नियन्त्रण पौडेलले बताए ।
उत्तरपुस्तिका पठाउने, परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन गर्न खर्च पठाउने काम पनि प्रदेश सरकारले गर्छ । यो वर्ष ५ लाख प्रश्नपत्र छापिएका छन् । परीक्षा फाराम भरेका सबै विद्यार्थीले परीक्षा दिन नआउने भन्दै बोर्डले ५ लाख मात्रै प्रश्नपत्र छापेको हो ।
प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक सुरक्षा मन्त्रालयले परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन गर्दै आएको छ । केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षा व्यवस्था लगायतको कार्य प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले गर्नेछ । केन्द्राध्यक्ष, निरीक्षकहरू नियुक्त गरेपछि उनीहरूले तालिम समेत प्रदान गर्ने गरिन्छ । त्यसका लागि परीक्षा हुनुभन्दा केही दिन अगाडि मात्रै तालिम दिने गरिन्छ ।
नेपाल बाहिर जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ । जहाँ २१ जना विद्यार्थीले एसईई दिनेछन् । जापानमा परीक्षा सञ्चालनका लागि बोर्डबाट दुई जना जाने भन्ने नीतिगत व्यवस्था थियो । तर, अहिलेसम्म नगएको पौडेलको भनाइ छ । बोर्डबाट कोही नगएपछि त्यही स्कुलको प्रिन्सिपललाई केन्द्राध्यक्ष तोकेर परीक्षा गर्न लागिएको पौडेलले बताए । परीक्षा सञ्चालन भइसकेपछि उत्तरपुस्तिकाहरू नेपाल पठाइने र नेपालबाटै परीक्षण हुने उनको भनाइ छ ।

बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसईई गर्न लागेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले लेटर ग्रेड निर्देशिका अनुसार पहिलो पटक एसईई गर्न लागिएको बताए ।
न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने अध्यक्ष शर्माले बताए । यस पटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको बताए ।
२ वटाको छुट्टा छुट्टै रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको हो । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । यो पटक भने दुवै छुट्टा छुट्टै अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।
कक्षा ११ र १२ को हकमा भने उक्त निर्देशिका कार्यान्वयन भएको २ वर्ष भयो । कक्षा १० को हकमा यो व्यवस्था पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो । राष्ट्रिय पाठ्यक्रम परिषद्ले नयाँ पाठ्यक्रम लागू भएपछि कक्षा १० मा नयाँ ग्रेडिङ निर्देशका लागू गर्ने निर्णय भएको थियो । सोही आधारमा यो वर्ष नयाँ पाठ्यक्रम अनुसार पठनपाठन भएको र परीक्षा पनि सोही अनुसार हुन लागेको मर्शाले बताए । यसले विद्यार्थीलाई पढ्नु पर्छ भन्ने भाष्यको विकास हुने उनको दावी छ । विद्यार्थीलाई मौलिकता र व्यवहारिक शिक्षामा पनि जोड दिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्