एक महिनाभित्र कर्मचारी व्यवस्थापन गर्न महासंघको आग्रह

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले सरकारले एक महिनासम्ममा पनि आवश्यक कर्मचारी व्यवस्थापन नगरे महासंघले नै कर्मचारी व्यवस्थापन गर्ने बताउनुभएको छ ।

कर्मचारीको अभावले गर्दा नागरिकको सेवा व्यवस्थापन गर्न समस्या परेकाले एक महिनाभित्र सरकारले कर्मचारी व्यवस्थापन नगरे संविधानको मर्यादाभित्र रहेर आफूलाई चाहिने कर्मचारी आफैँ व्यवस्थापन गर्ने बताउनुभएको हो ।

गएको शुक्रबार र शनिबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको पहिलो बैठकका निर्णय सुनाउँदै अध्यक्ष श्रेष्ठले गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता र स्वीकृत शिक्षक दरबन्दीलाई अपुग हुने गरी पैसा गएको र कतै धैरै पैसा गएकाले यस विषयमा ध्यान दिन महासंघले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग आग्रह गरेको छ ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “विषयगत कार्यालय अहिले पनि कायमै छन्, साझा अधिकारका विषयमा सरकारले कानून बनाउँदा गाउँपालिकालाई सोध्दै सोध्दैन ।” नगरपालिका र गाउँपालिकामा प्राप्त संवैधानिक हक समान छ । नागरिकप्रतिको जिम्मेवारी, जवाफदेहीता, प्रवाह गर्नुपर्ने सेवा र वितरण गर्नुपर्ने सुविधा समान भए पनि नगरपालिका प्रमुख र गाउँपालिका प्रमुखलाई गरिने व्यवहार फरक रहेको पनि श्रेष्ठले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्