बैंकहरूले घटाए चैत महिनाका लागि ब्याजदर
काठमाडौं,३० फागुन । चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०।५ प्रतिशत विन्दुले घटेको छ ।
बाणिज्य बैंकहरु मध्ये एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । यस बैंकका बिषयमा आएका प्रचारका कारण सो बैंकबाट केही निक्षेप झिकिएपछि बैंकले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ । यस बैंकले भने चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत दिने छ ।
बैंकहरूले व्यक्तिगत मुद्दतीमा प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।
बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि आफ्नो स्वच्छ प्रतिस्पर्धात्मक रुपमा तरलता आवश्यकता अनुसार ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाउँदै जाँदा बचत र कल निक्षेपको ब्याजदर पनि स्वतः घट्छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । बैंकले लिने सबै प्रकारका निक्षेपको ब्याजदर घटेपछि समग्रमा आधार दर नै घट्न जान्छ र कर्जाको ब्याजदर पनि घट्छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी कर्जा चाहेजति जान नसकेको र अधिकतम तरलता भएकोले ब्याजदर घट्दो क्रममा नै रहेको बताउँछन् । निक्षेप बढीरहेको छ, कर्जा सोअनुसार प्रवाह भइरहेको छैन, यस्तोमा ब्याजदर थप घट्नै नै देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्