बहुदर भ्याट प्रणालीमा जान अर्थमन्त्रीलाई परिसंघको सुझाव

काठमाडौं,३० फागुन । नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका लागि विभिन्न उपायका विषयमा छलफल भएको छ ।

परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री पुनलाई बधाई तथा शुभकामना दिँदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव प्रस्तुत गरेको छ । अध्यक्षले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रले भागेको समस्याका विषयमा जानकारी गराएका थिए । उनले निजी क्षेत्रको मनोबल किन खस्कियो भन्ने विषयमा स्पष्ट भइ त्यहीबाट अर्थतन्त्र सुधारका लागि अगाडि बढ्नुपर्ने बताए ।

छिमेकी मुलुक भारतले अवलम्बन गरेको जीएसटी र नेपालले अवलम्बन गरेको एक दरको मूल्य अभिवृद्धिका कारण अनधिकृत व्यापार बढाउन सहयोग गरेको भन्दै बहुदर भ्याट प्रणालीमा जान आग्रह गरे ।

अग्रवालले साफ्टाका कारण कतिपय वस्तुहरुको भन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले स्वदेशी उद्योगहरु प्रभावित भइरहेकोतर्फ ध्यानाकर्षण गराए ।

कर्पोरेट विषयमा उद्योगी व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने गरिएकाले व्यावसायिक वातावरण बनाउन उद्योग व्यवसायसँग सम्बन्धित कानुनहरुलाई सुधार गरिनुपर्ने आवश्यकता रहेको बताए । छलफलको क्रममा मन्त्री पुनले सरकारले उद्यमी व्यवसायीलाई तर्साउने नभइ प्रोत्साहन गर्ने बताए ।

प्रधानमन्त्रीको निर्देशन नै पहिले सुन्ने त्यसपछि मात्रै थुन्नुपर्ने अवस्थामा थुन्ने निर्देशन गृहमन्त्रीसमेतलाई दिएको भन्दै निजी क्षेत्रलाई अगाडि बढाएरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्माण व्यवसायीहरुको दिनुपर्ने भुक्तानी दिइ बजारलाई चलायमान बनाउन ३०/४० अर्ब बजारमा पैसा पठाउन लागेको समेत उनले बताए बहुदर भ्याट प्रणालीमा जानुपर्ने परिसंघको सुझावलाई सकारात्मक रुपमा लिएको बताए । सो छलफलमा परिसंघका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोरलगायत ब्यवसायी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्