सुनसरी र झापाबाट लागुऔषधसहित ४ युवा पक्राउ

काठमाडौं ।  प्रहरीले झापाबाट ब्राउन सुगरसहित २ युवकलाई पक्राउ गरेको छ।

मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट विर्तामोड नगरपालिका–५ का १७ वर्षीय प्रज्वल चौधरी र १७ वर्षीय विमल थापा पक्राउ परेका हुन्। उनीहरुको साथबाट ४ सय ५० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण व्युरोको टोलीद्वारा पक्राउ परेका उनीहरुले भारतको पानीटंकी बजारबाट लागुऔषध खरिद गरी ल्याएको प्रहरीले जानकारी दिएको छ। दुबैलाई इलाका प्रहरी कार्यालय काकड्भिट्टामा राखिएको छ।

यसैगरी, सुनसरीको दुहवी नगरपालिका ५ ढकाल चौकबाट लागुऔषध सहित २ युवकलाई पक्राउ गरिएको छ। को५प १४९८ नम्बरको मोटरसाइकलमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेका धरान–१२ का ३० वर्षीय अकुम्बा लिम्बु र धरान–१० का ३२ वर्षीय ललित लिम्बुलाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट एभिल, डाईजेल्याप, लुपिजेसिक, फेनारगन तथा ईन्जेक्सन बरामद भएको छ। भारतको जोगबनीबाट लागुऔषध खरिद गरी फर्कदै गर्दा पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्