कांग्रेसले निजीकरणका नाममा निजी क्षेत्र पनि ध्वस्त बनायोः के.पी. ओली

काठमाडौं, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजीकरणका नाममा नेपालका उद्योग र उद्यमी दुवै ध्वस्त बनाएको टिप्पणी गरेका छन् ।

देशको आर्थिक अवस्थाबारे आइतबार विज्ञहरुसँगको छलफलमा अध्यक्ष ओलीले निजीकरणका नाममा निजी क्षेत्रलाई समेत सिध्याएको बताएका हुन् ।

‘कांग्रेसले कमिसनतन्त्रका कारण निजी क्षेत्रलाई समेत भ्रष्ट बनाइदियो’, ओलीले भने, ‘जसले गर्दा उनीहरुले पनि चलाउनका लागि किनेनन् । वाँसबारी छालाजुत्ता कारखाना चलाउनका लागि किनेनन् । हेटौडा कागज कारखाना चलाउन किनेनन् ।’

उनले ती उद्योगहरु जमिनका लागि किनेर कमिसनको फोहोरी खेल भएको बताए । उनले अहिले एमाले निजी क्षेत्रलाई विकासको इन्जिन बनाउन चाहेको भन्दै निजी क्षेत्रलाई भ्रष्टाचारको माध्यम बनाएर उद्यमशीलता नबढ्ने बताए । ‘हामीले उद्यम, उद्यमशीलता होइन, अरू देशबाट ल्याएर यहाँ बेच्नेमात्रै, गाडीदेखि साइकल र सियो पनि बाहिरबाट ल्याउने । डिलरसिपमा प्रेरित गरिरहेका छौ’, ओलीले यस्तो प्रवृत्तिबाट देशको उन्नति नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्