कान्तिपुर सहकारी समस्याग्रस्त घोषणा, अध्यक्ष ठकुरी पक्राउ अन्यको खोजी हुँदै

काठमाडौं,८ फागुन । कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट उनीसहित ६ विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।

सहकारी ठगीको उजुरी परिरहेको छ । ठकुरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । अन्य केहीको पक्राउ पुर्जी ल्याएर खोजी भइरहेको छ, सहकारी ठगी आरोपमा पीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो ।

सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो ।

‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ ।

कान्तिपुर सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको समाचार विभिन पत्रपत्रिका र अनलाइन पत्रिकाहरुले समाचार प्रकाशित गर्दै आएका थिए ।

काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकामध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।

कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा गत असारमा करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत थियो ।

असारपछि संस्थाले केही बचकर्तालाई जग्गा दिएर ‘सेटलमेन्ट’ गरे पनि संस्थाले समस्या समाधानका लागि तदारुकता नदेखाएपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको विभागले जनाएको थियो ।

सहकारीले गत असारमा सेयर पूँजी करिब ४० करोड र ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको थियो ।

३ फागुनको मन्त्री स्तरीय निर्णयबाट सहकारीलाई समस्याग्रस्त घोषणा भएको जनाइएको छ । २९ माघमा विभागले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।

मन्त्रालयले समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिमा पठाएपछि सम्पत्ति र दायित्वको विवरण यकिन गर्ने कार्य गर्ने छ । समस्याग्रस्त घोषणा भएको पत्र मन्त्रालयबाट प्राप्त भएको र सहकारी विभागले गरेको अुसन्धान फाइल मगाएको समितिका सदस्यसचिव केशवप्रसाद पौडेल बताउँछन् । विभागबाट फाइल आएपछि सहकारीको सम्पत्ति र दायित्व खोजी सुरु हुने उनले बताए ।

बचकर्ताबाट संकलन गरेको स्रोतमध्ये ठूलो हिस्सा सहकारीका पूर्वअध्यक्ष, वर्तमान अध्यक्ष, प्रबन्ध सञ्चालक, सञ्चालकहरू लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा लगानी गरेको पाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्