प्रथम चावहिल जुत्ताचप्पल व्यापार मेलामा १० हजार बढीको अवलोकन, एक करोड बढीको कारोबार

काठमाडौँ, २ फागुन। प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ मा १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
नेपाल जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ताचप्पल व्यापार मेलामा फागुन १ गतेसम्म १० हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिनुभयो । मेलामा हालसम्म रु. एक करोडभन्दा बढीको कारोबार भइसेकेको छ ।

नेपाल जुत्ताचप्पल उत्पादक सङ्घका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उदेश्यले चावहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको बताउनुभयो । जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाईन राखिएको छ ।
उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रनशुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन् ।

समूहका अनुसार नेपाली जुत्ताचप्पल उद्योगको उत्पादन क्षमता वार्षिक १६ करोड जोर भएपनि विक्रिवितरण भने जम्मा ६ करोडमात्र हुने गरेको छ । फागुन १८ गतेसम्म चल्ने मेलामा रु तीन करोड बराबरको जुत्ताचप्पल विक्रि हुने लक्ष्य राखिएको छ । मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिइएको समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्