शिक्षा शाखा प्रमुखसँग बालेनले मागे स्पष्टीकरण

काठमाडौं, १४ माघ । काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ ।

पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिनभित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।

कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए । तर शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ ।

‘नगर शिक्षा समितिको निर्णयविना उहाँले कक्षा थप गरेको पाइएपछि कारण सहित सफाइ पेश गर्न प्रमुख प्रशासकीय अधिकृत मार्फत निर्देशन भएको हो । उहाँले कुन निर्णयका आधारमा अनुमती दिएको भन्ने नदेखिएर स्पष्टीकरण सोधेका हौं’, सचिवालयका एक सदस्यले भने ।

स्थानीय तहमा नगर शिक्षा समितिका संयोजक नगर प्रमुख नै रहने व्यवस्था छ । कोइरालाले अनुमति दिएपछि रत्नराज्य माविमा विज्ञान संकायमा विद्यार्थी भर्ना भएर पढाइ समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्