भोलिसम्म म्याद बाँकी रहदा त्रिविको उपकुलपति पदमा १६ जनाको आवेदन
काठमाडौ, ७ माघ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा आइतबारसम्म १६ जनाको आवेदन परेको हो ।
आवेदन दिने समय सोमबारसम्मका लागि तोकिएको छ । भोलिसम्म केही थप व्यक्तिहरूले समेत आवेदन दिने अपेक्षा गरिएको छ ।
आइतबारमात्र त्रिविका पूर्व डीन गुणनिधी न्यौपाने, परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि भट्टराई लगायतले आवेदन दिएका छन् । त्यस्तै त्रिविकै पूर्व उपकुलपति तीर्थ खनियाले समेत आकांक्षा देखाएका छन् । तर, उनले आजसम्म आवेदन भने दिएका छैनन् । ‘अहिलेसम्म आवेदन दिएको छैन । दिने भन्ने सोच त छ । तर, भोलिसम्म हेरौँ के के हुन्छ भन्दै खनियाले भने।
अरू क–कसको आवेदन परेको भन्नेबारे चाहिँ समितिले केही खुलाएको छैन । आइतबार आवेदन दर्ता गराएका पूर्व डीन न्यौपानेले त्रिविको व्यापक सुधारका लागि आफ्नो उम्मेदवारी रहेको बताए । त्रिविले अहिले खुला प्रतिस्पर्धाबाट भिसी नियुक्त गर्न लागेको प्रक्रियाले समेत त्रिविको सुधारको संकेत देखिएको बताए ।
उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल १६ कात्तिक २०८० मा सकिएपछि शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको छ । उनी समेत उपकुलपतिको रेसमा छन् । भिसीका लागि अन्य प्राध्यापकहरूले समेत तयारी गरेका छन् ।
उपकुलपति नियुक्तिका लागि पहिलोपटकको दरखास्त आह्वानमा विरोध भएपछि २३ पुसमा दोस्रो पटक सूचना निकालेको थियो । पहिलो पटक २० पुसमा सार्वजनिक गरेको सूचनामा विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले पहिलो पटक प्रकाशन गरेको विज्ञापन रद्द गरी दोस्रो पटक सूचना निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्