नेप्से सूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा, वाणिज्य बैंकको नाफा घटेको प्रभाव पर्याे

काठमाडौ, ७ माघ । आइतबार नेप्से सूचक २५।६३ अंकले घटेर २१३०.१८ विन्दुमा झरेको छ। यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ७ अर्ब ६७ करोड रुपैयाँको शेयर कारोबार भएको छ। गत बिहीबार ८ अर्ब बढीको शेयर कारोबार भएको थियो।

यस दिन हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ५६ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमाल दोलखाको २२ करोड ९१ लाख र अपि पावरको २० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आइतबार समाज लघुवित्त र आँखु खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्तको ९.९४ प्रतिशतले बढेको छ। यता सिइडिबि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ८.२७ प्रतिशतले घटेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य ७.२६ प्रतिशतले घटेको छ।आइतबार बैंक तथा वित्तीय संस्थाले प्रकाशित गरेको वित्तीय विवरणको प्रभाव शेयर बजारमा देखिएको छ । बैंकहरुले नाफा घटेको विवरण प्रकाशित गरेपछि शेयर बजारमा त्यसको असर देखिएको हो।

आइतबार २० वटा वाणिज्य बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकमा १६ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने ४ वटाको मात्रै बढेको छ। यसले गर्दा आइतबार अधिकाँश बैंकको शेयरमूल्य घटेको छ।

बैंकहरुको खराब कर्जा बढ्दा त्यसले बैंकहरुको नाफा प्रभावित भएको छ। अधिकाँश बैंकको वितरणयोग्य नाफा समेत नकारात्मक छ। यसले गर्दा बैंकको शेयरमा बिक्री चाप बढेको देखिन्छ।

कारोबारमा आएका १३ उपसमूहमा हाइड्रोपावर र अन्य उपसमूह बाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूह नै २.४२ प्रतिशतले घटेको छ। धेरै पूँजी भएका बैंकहरुको शेयरमूल्य घट्दा त्यसले नेप्से सूचकलाई नै नकारात्मक बनाएको छ। यस दिन विकास बैंक र फाइनान्स उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धैरैले नकारात्मक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्