दुई देशको सम्बन्ध : प्रधानमन्त्रीको आलोपालो भ्रमण, राजदूत सिंह भ्रमणको तयारीमा सक्रिय

काठमाडौँ । नेपाल–भारत सम्बन्धको निरन्तरता एक पक्ष यी दुई मुलुकका कार्यकारी प्रमुखको छिमेकी मुलुकको भ्रमण रहेको छ । भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा आउने तयारीमा रहेकोले यसको पुष्टि गरेको छ ।

भारतबाट प्रकाशित विभिन्न मिडियाले जनाएअनुसार आगामी मे ११ मा भारतीय प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्दैछन् ।

यद्यपि नेपालको औपचारिक कुटनीतिक च्यानलबाट यसको पुष्टि भएको छैन ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण फलतः दुई देशबीच रहँदै आएको पारस्परिक सम्बन्ध थप उचाइ दिनकै लागि भारतीय पक्षको भनाई छ । भारतीय अफिसियल र दूताबासले भ्रमणको सम्पूर्ण तयारी थालिसकेको बताइएको छ ।

यी मुलुकबीच जनस्तरदेखि नै सामाजिक, भाषिक र सांस्कृतिक रुपमा समानता छ । नेपाल–भारतबीच सैन्य क्षेत्रमा समेत सहयोग आदान(प्रदान हुँदै आएका छन् । दुई मुलुकका प्रधान सेनापतिलाई एक–अर्का देशले मानार्थ सेनापतिको दर्ज्यानी दिँदै आएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको चर्चासँगै भारतीय राजदूत मन्जिभसिंह पुरी आइतबार जनकपुर पुगेका छन् । नेपाल आएको बेला जनकपुरको पनि भ्रमण गर्ने मोदीले बताएकाले त्यसको तयारीमा नेपालस्थित भारतीय राजदूत जनकपुर गएको हुनसक्ने आँकलन गरिएको छ ।

भारतीय दूतावास स्रोतका अनुसार राजदूत सिंह नेतृत्वको टोलीले जनकपुरको वस्तुस्थितिको बारेमा जानकारी लिनेछन् ।
राजदूत पुरी जनकपुर पुगेर प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसँग मुख्यमन्त्रीको कार्यालयमा छलफल गर्नेसमेत बताइएको छ ।

२ नम्बर प्रदेशका सबै मन्त्री तथा मुख्य दलका नेताहरु र सुरक्षा अधिकारीसँग जनकपुरको स्थितिको बारेमा छलफल गर्ने कार्यक्रम रहेको दूतावास स्रोतले भनेको छ ।

प्रधानमन्त्री मोदीले यसअघि नेपाल भ्रमणमा आएको बेला जनकपुर भ्रमण गर्न सकेका थिएनन् । त्यतिबेला उनले अर्को पटक आउँदा आउँदा जनपुर जाने बताएका थिए । प्रधानमन्त्री ओलीले भारत भ्रमणको बेला समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्ता दिँदै सार्क सम्मेलनको बेला जनकपुर र मुक्तिनाथ भ्रमण गर्न नभ्याएको स्मरण गर्दै अबको भ्रमणमा २ स्थानको भ्रमण गर्न सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्