धान उत्पादनमा उच्च वृद्धि

काठमााडैं, २३ पुस । धान उत्पादनमा वृद्धि भएको छ । यो वर्ष हालसम्मै धेरै धान उत्पादन भएको हो। कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मै धेरै धान फलेकोले कृहि आसा भने जागेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार यो वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ।

यसअघि सबभन्दा धेरै धान फलेको आर्थिक वर्ष २०७७/०७८ मा थियो। सो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो।

यो वर्ष धान रोपाइँ गरिएको क्षेत्रफल कम भएता पनि धान उत्पादनमा वृद्धि भएको छ । कुल धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टर कम हो। तर उत्पादकत्व बढेकाले धेरै धान फलेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए।

उनका अनुसार अघिल्लो वर्षको तुलनामा यसपालि उत्पादकत्व ४.९७ प्रतिशतले बढेको हो। ‘गत वर्षको तुलनामा चालु आर्थिक वर्ष धानको कुल उत्पादन ४।३३ प्रतिशतले वृद्धि भएको छ, ‘ रेग्मीले भने, ‘यसपालिको उत्पादन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो।’

प्रदेशगत हिसाबमा यो वर्ष सबभन्दा धेरै धान कोशीमा उत्पादन भएको छ। त्यस्तै सबभन्दा कम कर्णालीमा भएको छ।

कोशीमा यो वर्ष १४ लाख ३५ हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको छ भने कर्णालीमा एक लाख ४५ हजार ६३ मेट्रिक टन छ।

त्यस्तै बागमतीमा पाँच लाख ४ हजार ३४४, लुम्बिनीमा १३ लाख १० हजार ८२९, गण्डकीमा तीन लाख ९१ हजार ६२४, सुदूरपश्चिमममा पाँच लाख ९९ हजार १२५ र मधेसमा १३ लाख ३७ हजार ६७२ मेट्रिक टन धान उत्पादन भएको छ।

उत्पादकत्वतर्फ पनि यो वर्ष कोशी प्रदेश सबभन्दा अगाडि छ। कोशीमा यसपालि एक हेक्टर जग्गा बराबर ४.४३ मेट्रिक टन धान उत्पादन भएको छ।

सबभन्दा कम उत्पादकत्व भने मधेस प्रदेशमा देखिएको छ। यहाँ एक हेक्टर जग्गामा औसत ३.४९ मेट्रिक टन उत्पादन भएको छ।

चालु वर्षमा धानको उत्पादन र उत्पादकत्व बढ्नुमा उन्नत जातको बिउको सिफारिस र त्यसको प्रयोग प्रमुख कारण भएको कृषि मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

त्यस्तै रोगकीराको प्रकोपमा कमी, बाढीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग बढ्नु पनि प्रमुख कारण भएको कृषि मन्त्रालयकी सहसचिव सवनम शिवाकोटीले बताइन्।

मधेस प्रदेशका केही जिल्लाहरूमा भने धान रोप्ने समयमा पर्याप्त वर्षा नभएकााले उत्पादन र उत्पादकत्व कम भएको हो।

नेपालको प्रमुख कृषि बाली धानको उत्पादन बढ्दा यसले समग्र अर्थतन्त्रको आकार वृद्धिमा ठूलो सहयोग पुर्‍याउँछ।

आर्थिक वर्ष २०७७/०७८ को तथ्यांकअनुसार नेपालको कुल कृषि उत्पादनमा धानको योगदान १६ प्रतिशत थियो। त्यस्तै अहिले नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान २४ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्