कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौँ, २२ बैशाख। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन र बागबनन्डा मिलाउन लगायत विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । वर्तमान सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा मतभेद छ ।
यसअघि केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले त्यसबारे विभाजित धारणा राखेका थिए भने बैठकले अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
१९ सिटका लागि हुने निर्वाचनमा गठबन्धनमा कांग्रेसका भागमा कति सिट पर्ने भन्ने अझै निश्चित छैन । तर गठबन्धनमा कांग्रेसले १३ सिट दाबी गरिरहेको भए पनि १० सिटभन्दा बढी पाउने अवस्था नरहेको नेताहरू बताउँछन् ।
जबकि सात प्रदेशबाट उम्मेदवारका आकाङ्क्षीहरूको सङ्ख्या भने चार सय हाराहारी छ । पार्टीभित्र असन्तुष्टि नहोस् भन्ने हिसाबले सिटको टुङ्गो लाग्ने बित्तिकै उम्मेदवार चयनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्