सुनको भाउमा नयाँ रेकर्ड कायम गरेर विदा हुँदै सन् २०२३
काठमाडौं १५, पौष । सन् २०२३ को अन्तिम दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ, तर पनि प्रत्येक महिना नयाँ नयाँ उचाई बनाएर बिदा भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २० हजार १०० रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।
यता, सुनको भाउले सन् २०२३ मा नयाँ रेकर्ड कायम गरेर विदा हुँदैछ । यसै महिनाको पुस १२ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख २२ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २१ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
सन् २०२३ को सुरुवातबाटै विश्वभर आर्थिक मन्दी देखिन थालेको विभिन्न रिपोर्टहरु सार्वजनिक भए । यही कारण विश्वभरका लगानीकर्ता सुन संचित गर्नतर्फ लागे । यसले गर्दा सुनको माग ह्वात्तै बढ्न जाँदा मूल्य बढेको विश्लेषकहरुले बताएका छन् । त्यसैगरी, विभिन्न मुलुकमा जारी द्वन्द्वका कारण पनि प्रभाव पारेको विश्लेषकहरुले बताएका छन् । किनभने द्वन्द्व तथा लडाईंको बेला विश्वभरका लगानीकर्ता सुरक्षित लगानीको खोजीमा हुन्छन् ।
यता, पछिल्लो समय अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने नीति लिएसँगै सुनको मूल्यमा वद्धि देखिएको हो । फलस्वरुपः लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुन थाले । सुनलाई विश्वभर नै लगानीको सबैभन्दा सुरक्षित क्षेत्रमध्येको एक मानिन्छ । विश्लेषकहरुले अंग्रेजी नयाँ वर्षमा सुनको मूल्यले अर्को रेकर्ड कायम गर्न सक्ने अनुमान समेत गरेका छन् । त्यसो त लामो समयदेखि सुनको मूल्य चुलिंदै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २0६२.९ डलर र चाँदी प्रतिऔंस २३.८ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्